तत्काल समाजवादी मोर्चाका घटकसँग एकता प्रयास, कालान्तरमा एमाले पनि समेटिने विश्वास
प्रमुख प्रतिपक्ष दल माओवादी बृहत् वामपन्थी एकताको पक्षमा उभिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादीको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् वामपन्थी एकता र कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि अघि बढ्ने प्रस्ताव गरेका हुन् । ‘नेपाली जनता बृहत् वामपन्थी एकीकरण चाहन्छन् । कम्युनिस्ट पार्टीको पुनर्गठन पनि चाहन्छन् । त्यसका लागि पहिला हाम्रो पार्टी सुदृढ हुनुपर्छ । वैचारिक, राजनीतिक र भावनात्मक एकता उचाइमा उठाउँदै जनतामा जानुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने ।
तत्काल समाजवादी मोर्चाका घटक दलसँग एकताको प्रयास हुने र कालान्तरमा एमाले पनि एकता प्रक्रियामा आउने विश्वास प्रचण्डको छ । समाजवादी मोर्चामा माओवादीसहित एकीकृत समाजवादी, नेकपा र नेसपा छन् । ‘बृहत् वामपन्थी एकता र कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्छ भन्ने रणनीतिक उद्देश्य राखेर एमालेसँग सम्बन्ध राखेका थियौँ । हामीले सकारात्मक प्रयत्न गर्दागर्दै अर्को पक्ष (एमाले) ले भंग गर्यो । खास व्यक्ति, नेताले कम्युनिस्ट पार्टीको पुनर्गठन चाहँदैनन् भने पनि अन्त्यमा कम्युनिस्ट पार्टीको पुनर्गठन अनिवार्य छ,’ प्रचण्डको भनाइ थियो ।
राजनीतिमा अनेक उतारचढाव आउने भन्दै प्रचण्डले पार्टी फेरि सशक्त रूपमा अगाडि आउने विश्वास लिएका छन् । माओवादीले अग्रगमनकारी र परिवर्तनका मुद्दा नछाडेको भन्दै उनले सरकारमा रहेर सामाजिक न्यायसहित सुशासन र समृद्धिको पक्षमा काम गरेको बताए । ‘माओवादी नेतृत्वको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा राम्रो कामको सुरुवात गरेको छ । माओवादी बेदाग सरकारबाट निस्केको छ । कुनै भ्रष्टाचारमा मुछिएको छैन । सामाजिक न्यायसहितको सुशासन र समृद्धिमा सरकार खरो उत्रिएको जनताले महसुस गरेका छन् । हामीलाई जनतामा जान राम्रो आधार छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने ।
एकताबद्ध रूपमा पार्टी अगाडि बढ्दा जनताले विश्वास गर्ने सापकोटाले बताए । ‘राजनीति सधैँ एकनाशले जाँदैन । उचारचढाव, घुम्ती, मोड हुँदै अगाडि जान्छ । कहिले त्यो पूरै दिग्विजय भयो भन्नेजस्तो हुन्छ । कहिले कमजोरजस्तो हुन्छ । राजनीतिको चरित्र यस्तै हुन्छ । ०६४ मा माओवादीको १२० सिट आएको थियो । अहिले हामी ३२ सिटमा छौँ । भोलि फेरि हाम्रो १५० नै आउन सक्छ । हामीलाई के विश्वास छ भने पार्टीलाई एकताबद्ध गरेर जनतामा गयौँ भने हाम्रो पक्षमा परिणाम आउँछ । जनताको अग्रगामी मुद्दा हामीले छाडेका छैनौँ । त्यो मुद्दालाई प्रभावकारी ढंगले लागू गर्ने सवालमा कमीकमजोरी भएको मात्रै हो,’ उनले भने । विगतको कमजोरीप्रति जनतामा गएर माफी माग्ने र कमजोरी नदोहोर्याउने गरी अगाडि बढ्ने उनले दाबी गरे ।
प्रचण्डले बैठकको सुरुमा वैचारिक, राजनीतिक र सांगठनिक परिस्थितिका साथै आगामी कार्यभारबारे धारणा राखेका थिए । ‘आठौँ महाधिवेशनमा हामीले विचारको संश्लेषण गरेका थियौँ । अहिलेको मार्गनिर्देशक सिद्धान्त त्यही नै हुनेछ । फेरि एकपल्ट विगतका संश्लेषणको पनि अध्ययन गर्नुपर्छ । विगतका अनुभवलाई मध्यनगर गर्दै अहिले चलेका बहसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्नुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘२१औँ शताब्दीको जनवादको विकासबारे, केन्द्रीय समितिका विभिन्न प्रतिवेदनको पनि अध्ययन गर्नुपर्छ । तर, अहिले जुन खालको परिस्थिति विकास भएको छ । त्यसको ठोस विश्लेषण गरेर नयाँ वैचारिक संश्लेषण गर्नुपर्छ ।’