अर्जेन्टिनी गल्फर रोबर्टो डी भिन्सेन्जो आफ्नो समयका सफल र चर्चित गल्फ खेलाडी थिए । उनले आफ्नो खेल करिअरभरमा संसारभरका दुई सय ३० भन्दा बढी प्रतियोगितामा विजय हासिल गरेका थिए । उनी आफ्नो सानदार खेलका लागि मात्र नभई सकारात्मक सोचका लागि पनि त्यत्तिकै चर्चित थिए । एकपटक रोबर्टोले कुनै एक प्रतियोगितामा जित हासिल गरे । पुरस्कारमा पाएको चेक लिएर उनी ड्रेसिङ रुममा प्रवेश गरे । उनले त्यहाँ लामो समय बिताए । जब उनी बाहिर निस्किए, त्यतिखेरसम्ममा सबै मानिस गइसकेका थिए । उनी बिस्तारै पार्किङ स्थलमा पुगेर आफ्नो कारमा बस्नै लागेका थिए, एक महिला उनको नजिक आइन् र भनिन्– सर मसँग कुनै जागिर छैन । मेरी छोरी निकै बिरामी छिन् । उनी जीवन–मरणको दोसाँधमा छिन् । तर, मसँग उनलाई अस्पताल लाने खर्चसमेत छैन ।
ती महिलाको दुःख सम्झेर रोबर्टोको मन पग्लियो । उनले तुरुन्तै आफूले पुरस्कारका रूपमा पाएको चेक ‘इन्डोर्स’ गरेर ती महिलालाई दिए । अर्को साता उनी कन्ट्री क्लब पुगे । त्यहाँ एक परिचितिले भने– सर, तपाईंमाथि ठूलो धोका भएको छ । तपाईंले जुन महिलालाई चेक दिनुभएको थियो, ती त ठग रहिछिन् । उनकी कुनै छोरी छैनन् । यहाँसम्म कि तिनको अहिलेसम्म बिहेसमेत भएको छैन ।
गुनासो सुनेपछि खुसी हुँदै रोबर्टोले भने– तिम्रो भनाइको मतलव, त्यहाँ कुनै बिरामी बच्ची थिइनन् ? ती परिचितिले ‘हो’ भन्ने संकेतमा टाउको हल्लाउँदै भने– हो सर ! रोबर्टो थप खुसी भए र भने– आहा ! यस्तो खुसीको खबरका लागि तिमीलाई लाखलाख धन्यवाद । कुनै बच्ची बिरामी छैन भन्ने खबर मेरा लागि यस वर्षभरिकै सबैभन्दा खुसीको खबर हो । किनकि, पैसा त मैले उनलाई दिइसकेकै थिएँ । उनले त्यो जेमा जसरी खर्च गरे पनि के नै फरक भयो र ? कम्तीमा एउटी बच्ची बिरामी छैन भन्ने थाहा पाउनुजति खुसीको अर्को खबर के नै हुन सक्छ, होइन त ?