माछापालनमा नवलपरासीका किसानको आकर्षण बढ्दो

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

बर्दघाट सुस्तापूर्वमा माछापालनमा किसानको आकर्षण बढ्दै गएको छ। नवलपरासीमा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको छ। नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ।

माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न सक्ने भएकाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख ऋषभ गुरागाईंले बताए। जिल्लामा गत आर्थिक वर्षमा ५७ माछापोखरी थपिएका छन्। आव ०७९/८० मा पोखरीको संख्या एक हजार ५१७ रहेको थियो भने आव ०८०/८१ मा उक्त संख्या एक हजार ५७४ पुगेको उनले बताए। 

जिल्लामा गत आवमा ५८ वटा नयाँ मत्स्यकार्प फार्म सञ्चालनमा आएका छन्। आव ०७९/८० मा २१५ फार्म रहेकामा आव ०८०/८१ मा उक्त संख्या २७३ पुगेको प्रमुख गुरागाईंले जानकारी दिए। ‘माछा फार्म र माछापोखरी थपिने क्रम बढेसँगै यहाँ प्रत्येक वर्ष माछा उत्पादनमा वृद्धि भएको छ,’ उनले भने। आव ०७८/७९ मा ९३३ मेट्रिक टन माछा उत्पादन भएकामा आव ०७९/८० मा ९६८ मेट्रिक टन तथा आव ०८०/८१ मा ९८१ मेट्रिक टन माछा उत्पादन भएको छ। 

माछापालनतर्फ जिल्लामा आकर्षण बढ्दै गएपछि माछाका भुरा उत्पादन गर्ने गरी गत आवमा एउटा मत्स्य ह्याचरी स्थापना भएको छ। त्यसैगरी यहाँ ६ वटा मत्स्य स्रोत केन्द्र सञ्चालनमा रहेको प्रमुख गुरागाईंले जानकारी दिए। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत मत्स्य स्वास्थ्य घुम्ती शिविरमार्फत स्थलगत माछापोखरीको रेखदेख गरिनुका साथै २५ लाख २८ हजार सिल्भर कार्प, रोहु र नैनीका भुरा वितरण गरिएको उनले बताए। 

सरकारले माछापालन गर्न सिफारिस गरेका रोहु, नैनी, सिल्भरकार्प, कमलकार्प, ग्रासकार्प, विवेककार्प, भागगोर र वडगासी जातका माछा यहाँ उत्पादन गर्ने गरिएको छ। कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाको तीन सय हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा कृषि उत्पादन केन्द्र माछा ब्लक कार्यक्रमअन्तर्गत नयाँ पोखरी निर्माण गरी माछापालन गर्न कार्यालयले प्रोत्साहन गरेको छ।

सुझावित समाचार