बेलायतले नेपाललाई १३ अर्ब रुपैयाँ अनुदान सहायता दिने भएको छ । नेपालको स्वास्थ्य, शिक्षा र विपत् व्यवस्थापनका क्षेत्रमा खर्च हुने गरी सात करोड ७३ लाख पाउन्ड स्टर्लिङ अनुदान सहयोग दिने भएको हो ।
सरकारले बेलायतबाट प्राप्त हुने अनुदान सहायतासम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले ‘समर्थम इन्ह्यान्सिङ जेन्डर एन्ड ह्युमन डेभलपमेन्ट आउटकम्स थ्रो सिस्टम स्ट्रेन्थेन’ नामक कार्यक्रमका लागि प्राप्त हुने ३८.८ मिलियन पाउन्ड स्टर्लिङ (करिब ६ अर्ब ५८ करोड रुपैयाँ) अनुदान सहायता समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको हो । यो कार्यक्रम शिक्षा र स्वास्थ्य मन्त्रालयअन्तर्गत खर्च हुनेछ ।
त्यस्तै, बैठकले बेलायत सरकारबाट ‘रेजिलेन्स एडप्सन एन्ड इक्लुसिभ इन नेपाल– रेन’ नामक कार्यक्रमका लागि प्राप्त हुने ३८.५ मिलियन पाउन्ड स्टर्लिङ (करिब ६ अर्ब ५० करोड रुपैयाँ) अनुदान सहायतासम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।
एडिबीले नेपालको जलवायु परिवर्तनको प्रभाव तथा पहिरो रोकथाम एवं व्यवस्थापनलगायत कार्यमा खर्च गर्न पौने चार अर्ब रुपैयाँ सहायता दिने भएको छ । मन्त्रिपरिषद्ले एडिबीले प्रस्ताव गरेको साढे दुई अर्ब रुपैयाँ अनुदान र सवा एक अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ ।
मन्त्रिपरिषद्ले एडिबीबाट ‘क्लाइमेट रेजिलेन्ट ल्यान्डस्केप्स एन्ड लाइभ्लीहुड’ नामक परियोजनाका लागि प्रास्ताव गरिएको २० मिलियन डलर अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ताटोली गठन गरेको हो ।