अमेरिकन महिला सटपुट खेलाडी राभेन साउन्डेर बिहीबार पेरिस ओलम्पिक खेलकुद प्रतियोगितामा फरक पहिरनका चर्चित भएकी छिन् । पेरिसको मुख्य रंगशालामा राभेन सटपुट फ्याँक्न आउँदा उनलाई कसैले चिन्न सकेनन् । ट्र्याकबाट सटपुट फ्याँक्ने स्थानसम्म उनले ट्र्याकसुट लगाएकी थिइन् ।
जब स्पर्धा सुरु भयो अमेरिकन ओलम्पिक कमिटीले उपलब्ध गराएको अफिसियल ड्रेसमा उनी प्रस्तुत भइन् । उनले अनुहार छोपिएको कालो मास्क र रंगीचंगी चस्मा लगाएकी थिइन् । यति मात्र होइन, सहभागी खेलाडीमध्ये आफूलाई सबैभन्दा आकर्षक र ध्यान तान्न उनले कपालसमेत रंग्याएकी थिइन् । उनको कपाल भिब्रान्ट ग्रिन र पर्पल रङको थियो । यस्तो विचित्र स्वरूपकी राभेनलाई समर्थकले ट्याग नम्बरबाट चिनेका थिए ।
धेरैले चस्माले छोप्ने गरी कालो मास्क किन लगाएको भन्ने प्रश्न गरेका छन् । अन्तर्राष्ट्रिय मिडियासमक्ष उनले खेलमा एकाग्रता बनाउन फरक पहिरनका साथ उपस्थित भएको बताएकी छिन् । ‘मास्कले खेलमा एकाग्रता बनाउने गर्छ । यसले आत्मप्रेरणा बढाउँछ,’ उनले भनिन् ।
अमेरिकाको सटपुट खेलमा ‘द हल्क’ नामबाट प्रसिद्ध राभेनले चार वर्षअघिको टोकियो ओलम्पिकमा रजत पदक जितेकी थिइन् । यसपटक उनको लक्ष्य स्वर्ण हो । अमेरिकाका साथै विश्वका अन्य समर्थकलाई खुसी पार्न लागि नै कालो मास्क र कपाल रंग्याएको उनको भनाइ छ ।
‘मलाई समर्थकले धेरै माया गर्नुहुन्छ । पेरिस ओलम्पिकमा समर्थकलाई खुसी दिलाउने प्रयासमा छु,’ उनले भनेकी छिन्, ‘कहिलेकाहीँ दर्शकलाई झुक्याउन पनि यस्तो गर्नुपर्छ ।’ प्रतिस्पर्धा गरेको इभेन्टमा उनी सातौँ स्थानमा रहिन् । सन् २०२० को टोकियो ओलम्पिकमा पनि उनी अन्य खेलाडीभन्दा फरक ड्रेसअपमा देखिएकी थिइन् ।
