प्रेरक प्रसंग : नागागुरु र माली

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

स्वामी रामकृष्ण परमहंस आध्यात्मिक विषयमा चर्चा गर्न पाउँदा खुब खुसी हुन्थे । प्रायः उनी विभिन्न सम्प्रदायका सन्तसित भेटघाट गरी अध्यात्मको विषयमा गम्भीर बहस गर्थे । एकपटक उनी नागागुरु तोतापुरीसितको संवादमा व्यस्त थिए । माघ महिनाको ठन्डी थियो । धुनी जलिरहेको थियो । ज्ञानगुनका विषयमा बहस भइरहेको थियो । 

बहसकै दौरान एक माली तोतापुरीको आश्रमबाहिरको बाटो हुँदै कतै गइरहेका थिए । यस क्रममा उनले आफ्नो चिलिम सल्काउन धुनीबाट केही कोइला निकाले । तोतापुरीलाई एउटा साधारण माली यसरी अचानक आउनु र विनाअनुमति पवित्र धुनी छुनु निकै नराम्रो लाग्यो । उनले मालीलाई गाली मात्र गरेनन्, उठेर दुई थप्पड पनि लगाइदिए । बिचरा माली केही बोल्नै सकेनन् । यी तिनै माली थिए, जसले रामकृष्णको धुनीबाट भने जहिल्यै कोइला लिएर आफ्नो चिलिम सल्काउने गर्थे । यस घटनालाई नजिकबाट देखिरहेका रामकृष्ण तोतापुरीको व्यवहार देखेर जोडले हाँस्न थाले । उनको हाँसो सुनेपछि तोतापुरीले प्रश्न गरे– यो अछुत मालीले पवित्र धुनीको अग्नि छोएर अपवित्र गराइदियो । तपाईं भने यसलाई दुई–चार थप्पड लगाइदिनुको साटो किन यसरी हाँसिरहनुभएको छ ? 

तोतापुरीको प्रश्न सुनेपछि रामकृष्णले भने– गुरुजी, कसैले छुँदैमा कुनै वस्तु अपवित्र हुन्छ भन्ने मलाई थाहा थिएन । भर्खरैसम्म तपाईं ‘एको ब्रह्म द्वितीयो नास्ति’ भन्दै मलाई समस्त विश्व एउटै परब्रह्मको प्रकाशबाट जाज्ज्वल्यमान रहेको ज्ञान दिँदै हुनुहुन्थ्यो । तर, धुनी छोएको अपराधमा एक सामान्य मालीलाई गाली गरी पिट्दै गर्दा तपाईंको त्यो ज्ञान कता गयो ? अनि, तपाईंजस्ता आत्मज्ञानीलाई देख्दा कसरी आफ्नो हाँसो थामूँ, तपाईं आफैँ भन्नुहोस् त ! रामकृष्णको भनाइ सुनेपछि नागागुरु लज्जित भए । उनले मालीसित माफी मागे र भविष्यमा यस्तो गल्ती कहिल्यै नगर्ने प्रण पनि गरे ।
 

सुझावित समाचार