पूर्वाधार तथा यातायातविज्ञ आशिष गजुरेललाई तीन प्रश्न

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

सडक दुर्घटनाबारे तयार पारिने प्रतिवेदन किन कार्यान्वयन हुँदैनन् ?
नेपालमा सडक दुर्घटनापछि छोटो समयमा अध्ययन प्रतिवेदन तयार पारिन्छ । त्यसमा एउटा दुर्घटनालाई मात्रै ध्यान दिइन्छ, समग्र दुर्घटनाबारे प्रतिवेदन आउँदैन । त्यसैले, यस्ता प्रतिवेदन दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी हुँदैनन् । नेपालमा सडक दुर्घटनापछि समिति गठन गर्ने, प्रतिवेदन तयार पार्ने र त्यसलाई दराजमा थन्क्याउने प्रवृत्ति छ । यसले दुर्घटना न्यूनीकरण हुँदैन । सडक दुर्घटना न्यूनीकरण गर्न दुर्घटनाबारे वैज्ञानिक अध्ययन गरी प्रतिवेदनको राय सुझाव कार्यान्वयन गर्नुपर्छ । प्रतिवेदन दराजमा थन्क्याइनु हुँदैन । यसबाहेक नेपालभरको यात्रालाई कसरी सुधार्ने भनेर गम्भीर अध्ययन हुनु पनि जरुरी देखिन्छ ।  

सडक दुर्घटना बढ्नुको कारण सडक पूर्वाधार हो कि मानवीय त्रुटि ? 
यसमा दुवै कारण होलान् । मेरो बुझाइमा सडक पूर्वाधार नै दुर्घटनाको मुख्य कारण हो । स्विडेनमा दुर्घटनापश्चात् गरिएको अध्ययन प्रतिवेदनले मानवले गर्ने गल्तीलाई समेत व्यवस्थापन गरी सडक पूर्वाधार बनाउनुपर्छ भन्ने सुझाव दियो । सोहिअनुसार सरकारले काम गर्दा दुर्घटना कम भयो । हामीकहाँ पनि मानवले गर्ने गल्तीलाई समेत व्यवस्थापन गर्नेगरी सडक पूर्वाधार बनाउनुपर्छ । 

केही नेताले सार्वजनिक यातायात प्रयोग गर्दैमा यसमा साँच्चिकै सुधार होला त ? 
मेरो विचारमा ठूला नेता र ठूला ओहोदाका कर्मचारी तथा तिनका छोराछोरीले सार्वजनिक यातायात प्रयोग नगरेसम्म यो सुध्रिँदैन । विगतमा पनि नेताहरूले यसरी नै सार्वजनिक यातायात प्रयोग गरेका थिए तर निरन्तरता दिएनन् । अहिले पनि केही नेता सार्वजनिक यातायात चढ्न थालेका छन्, यसको निरन्तरता होस्, स्टन्ट मात्रै नहोस् । यदि साँच्चिकै सुधारका लागि हो भने यो कदम राम्रो हो । 

सुझावित समाचार