प्रेरक प्रसंग : सिसावाला हल

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

एकपटक एकजनाले एक साधुसित गुनासो गरे । महात्मा, मेरो साथमा कोही पनि विश्वासपात्र छैनन् । मेरा कर्मचारी मसित झुटो बोल्छन् । पत्नी र छोराछोरी मात्र होइन, यो संसार नै स्वार्थी छ । कोही पनि ठीक छैनन् । 

साधु हल्का मुस्कुराए र उनलाई एउटा कथा सुनाए । एउटा ठूलो सहरमा एउटा ठूलो हल थियो, जहाँ करिब हजार ऐना जडान गरिएका थिए । एउटी सानी बालिका नियमितजसो एक्लै सो हलमा खेल्न जाने गर्थिन् । उनलाई त्यहाँ खेल्न निकै मजा लाग्थ्यो । उनलाई एकसाथ आफूजस्तै हजार अन्य बालिकासित खेलिरहेकोजस्तो लाग्थ्यो । उनी ताली बजाउँथिन्, हाँस्थिन् । उनीसँगै अरू हजार बालिकाले पनि एकसाथ ताली बजाउँथे, हाँस्थे । उनलाई संसारकै सबैभन्दा सुन्दर ठाउँ यही हल लाग्थ्यो । एकपटक एकजना निकै रिसाहा र उदास व्यक्ति सो हलमा पुगे । उनले एकसाथ आफूजस्तै हजार रिसाहा र उदास व्यक्ति देखे । ती सबैले रिसाएर उनैलाई हेरिरहेका थिए । उनले ती सबैलाई रिसाएर आक्रमण गर्न हात उठाए । बाँकी सबैले पनि उसैगरी रिसाएर उनीविरुद्ध हात उठाए । उनलाई लाग्यो, यो हल त संसारकै सबैभन्दा खराब स्थान रहेछ । उनी तुरुन्तै बाहिर निस्किए । 

साधुले भने– यो संसार पनि त्यही हजार सिसावाला हलजस्तै हो । हामी सबैले भित्रबाट जे निकाल्छौँ, यो संसारले पनि त्यही फिर्ता दिन्छ । यो संसार स्वर्ग या नर्क दुवै हुन सक्छ । केवल हामी के निकालिरहेका छौँ, त्यसैमा सबै निर्भर हुन्छ ।

सुझावित समाचार