कालिकामाई गाउँपालिकाका करार कर्मचारी धर्नामा

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

पर्साको कालिकामाई गाउँपालिकाले करारमा रहेका पुराना कर्मचारीलाई हटाएर नयाँ भर्ना गर्न सुरु गरेपछि करारका कर्मचारी धर्नामा उत्रिएका छन्। लामो समयदेखि विभिन्न स्वास्थ्यचौकीमा कार्यरत करारका कर्मचारीलाई हटाएपछि करारका कर्मचारीले मंगलबारदेखि पालिकाको गेटमा शान्तिपूर्ण रूपमा धर्ना सुरु गरेका हुन्।

गाउँपालिका अध्यक्ष वशिष्टकुमार कलवारले आफ्नो नजिकका व्यक्तिहरूलाई बहाल गर्ने नियतले पुराना कर्मचारीहरूको म्याद नथपेकाले बाध्य भई आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्। पालिकाले ल्याब असिस्टेन्ट, अनमी, अहेब र गेटपाले गरी १० जना करारका कर्मचारीलाई हटाएको छ।

तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयबाट करिब नाै वर्षअघि स्वास्थ्यचौकीको कार्यालयमा नियुक्त भएर काम गर्दै आएका कर्मचारीलाई स्थानीय तह बनेपछि पनि निरन्तरता दिइएको थियो। दरबन्दी कायम भएर नआएसम्म उनीहरूलाई निरन्तरता दिने पालिकाको तत्कालीन बोर्डले निर्णय गरेको थियो।

१० जना पुराना कर्मचारीको म्याद नथप्ने अध्यक्षको आडान र थप्नुपर्ने बहुमत सदस्यको अडानकै कारण पालिकाको परिषद् हालसम्म हुन नसकेको वडा नम्बर २ का वडाध्यक्ष सोनालाल चौरसियाले बताए। ‘पुरानो कर्मचारी हटाएर नयाँ किन राख्नुपर्याे ? यस्तो सोचले समस्या मात्र निम्त्याएको छ,’ चौरसियाले भने, ‘हटाउन खोजिएको कारण पनि छैन, म्याद थप नभएका कर्मचारी कार्यसम्पादन मूल्यांकनमा समेत बढी नम्बर पाएका छन्।’

आफूहरूको म्याद नथपेर पालिका अध्यक्ष र प्रशासकीय अधिकृत अमित गिरीले पालिकालाई अनिर्णयको बन्दी बनाएको आरोप कर्मचारीहरूले लगाइरहँदा प्रशासकीय अधिकृत गिरीले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्।

सुझावित समाचार