आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेको छैन। आन्तरिक राजस्व कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार ०८०/८१ मा लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसकेको हो।
गत आर्थिक वर्षमा दुई अर्ब ७५ करोड दुई लाख ४९ हजार राजस्व संकलन गर्ने लक्ष्य भए पनि दुई अर्ब ३९ करोड तीन लाख १० हजार रुपैयाँ मात्रै संकलन भएको छ । झन्डै ८६ प्रतिशत मात्रै राजस्व संकलन भएको छ।
आयकरतर्फ ७२ करोड ५८ लाख ६३ हजारमा लक्ष्यभन्दा बढी ७५ करोड पाँच लाख २१ हजार, घरबहाल करतर्फ २१ लाख ७० हजारमध्ये लक्ष्यभन्दा ५४ प्रतिशत कम १२ लाख ३२ हजार, ब्याजतर्फ ४१ लाख ५८ हजार चार सयमध्ये लक्ष्यभन्दा ३० प्रतिशत कम २८ लाख ९६ हजार चार सय, अन्तःशुल्कतर्फ ७७ करोड ९२ लाख ७८ हजारमा लक्ष्यभन्दा १२ प्रतिशत कम ६८ करोड ८० लाख ६४ हजार र आन्तरिक (मूल्य अभिवृद्धिकर) तर्फको पनि एक अर्ब १८ करोड १८ लाख २३ हजारमध्ये २३ प्रतिशत कम ९१ करोड चार लाख ३३ हजार र अन्यतर्फ नौ हजार मात्रै राजस्व संकलन भएको छ ।
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका सूचना अधिकारी किरण डाँगीले देशैभरि आर्थिक कारोबार घटेकाले र जिल्लामा अन्तःशुल्कको कारोबार घटेकाले लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसकेको बताए ।