लमजुङको राइनास नगरपालिकाले कोदोखेती गर्ने किसानलाई आठ लाख आठ हजार एक सय ४५ रुपैयाँ अनुदान वितरण गरेको छ । कोदो उत्पादन बढाउन व्यावसायिक कोदोखेती गर्ने किसानलाई उत्पादनका आधारमा गत आव ०८०/८१ मा सो अनुदान वितरण गरेको हो ।
उत्पादनमा आधारित अनुदानअन्तर्गत राइनास नगरपालिकाले कोदोखेती प्रवद्र्धनका लागि आव ०७९/८० बाट यस्ता कार्यक्रम कार्यान्वयनमा ल्याएको राइनास नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले बताए । सम्भाव्यताका आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिमाणनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो ।
कोदो उत्पादन हुने स्थानमा अन्य खेती गर्दा कोदोको उत्पादन कम हुने तथा जग्गा बाँझै हुन थालेपछि किसानलाई कोदोखेतीतर्फ प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको उनको भनाइ छ । जिल्लामा कोदो उत्पादनमा ह्रास आए पनि कोदोको माग भने अहिले बढ्दो छ । यतिखेर गाउँहरू खाली भएका कारण पाखो जग्गा बाँझो बनेका छन् ।
गत वर्ष राइनास नगरपालिकामा एक सय ६३ क्विन्टल कोदो उत्पादन भएको कृषि शाखाले जनाएको छ । पालिकाका १० वडामध्ये सबैभन्दा धेरै वडा नं ९ मा ४७ हजार किलो, वडा नं १० मा ३५ हजार तीन सय किलो र वडा नं २ मा ३० हजार नौ सय किलो कोदो उत्पादन भएको छ । राइनासमा विशेष गरी वडा नम्बर ९ स्थित कुवापानी र राम्चे तथा वडा नम्बर १० मा धेरै कोदो उत्पादन हुने गरेको छ ।