एकै दिन १४५ अंकले घट्यो नेप्से : एक सातामै तोडियो कारोबार रकमको कीर्तिमानी

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकै दिन १४५.०५ अंकले खस्किएको छ । निरन्तर उकालो लागिरहेको परिसूचक सोमबार ४०.७६ अंकले बढेको थियो । तर, मंगलबार बैंक तथा वित्तीय संस्थाका सेयर मूल्यमा आएको गिरावटले नेप्से परिसूचकमै ह्रास आएको हो । 

मंगलबार होटेल तथा पर्यटन समूहका ६ कम्पनीको सेयर मूल्य घटेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य ८.०३ प्रतिशतले घटेर एक हजार दुई सय १४ रुपैयाँ प्रतिकित्ता कायम भएको छ । सिटी होटेलको ७.७५ प्रतिशतले सेयर मूल्य घटेको छ । कालिञ्चोक दर्शन, ओरियन्टल होटेल्स, सोल्टी होटेल र तारागाउँ रिजेन्सीको पनि सेयर मूल्य घटेको छ । 

लगानी समूहको परिसूचक ६.३७ प्रतिशत, जीवन बिमा समूहको परिसूचक ६.३३ प्रतिशत, निर्जीवन बिमा समूह ५.०२ प्रतिशत र व्यापार समूहको परिसूचक ५.८७ प्रतिशतले घटेको छ । उद्योग तथा प्रोसेसिङतर्फ ४.७१ प्रतिशतले घटेको छ ।

वित्तीय विवरणपछि बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता हच्किए
सोमबार बैंकहरूको आव ०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएपछि बैंकहरूको सेयर मूल्यमा पहिरो गएको देखिन्छ । अधिकांश बैंकहरूको वितरणयोग्य मुनाफा खस्किएको र केही बैंकहरू लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेको विवरण आएपछि लगानीकर्ता हतोत्साहित भएको देखिन्छ । 

मंगलबार ओरालो लागेको बजारमा सबैभन्दा बढी फाइनान्स कम्पनीको सेयर मूल्य घटेको छ । ८.२७ प्रतिशतले फाइनान्स समूहको परिसूचक खस्किएको छ । नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय ८३ दशमलव ८ रुपैयाँले घटेर एक हजार सात सय ४४ दशमलव ८ रुपैयाँ कायम भएको छ । गोर्खाज फाइनान्सको सेयर मूल्य ८८ रुपैयाँले घटेर सात सय ९२ रुपैयाँ प्रतिकित्ता कायम भएको छ । सेन्ट्रल फाइनान्सको सेयर मूल्य ६४.५ रुपैयाँले घटेर ५८०.५ रुपैयाँ कायम भएको छ । फाइनान्स समूहका १५ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जानकारी दिएको छ । 

बैंकिङ समूहका सूचीकृत १९ वटै बैंकहरूको सेयर मूल्य घटेको छ । यो समूहको परिसूचकमा ५.९६ प्रतिशतले ह्रास आएको छ । बढी गुमाउनेमा सिटिजन्स बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सानिमा बैंक छन् । सिटिजन्स बैंकको सेयर मूल्य ९.५५ प्रतिशतले घटेर दुई सय ३१ रुपैयाँ प्रतिकित्ता कायम भएको छ । हिमालयन बैंकको सेयर मूल्य ९.१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९ प्रतिशत र सानिमा बैंकको ९.३६ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूहको परिसूचक ५.४४ प्रतिशतले घटेको छ । यो समूहका सूचीकृत १६ विकास बैंकहरूको सेयर मूल्य घटेको हो ।  

नेप्से घट्दा पनि मूल्य बढेका कम्पनीहरू
ओरालो लागेको बजारमा पनि आठ कम्पनीका सेयरधनी भने लाभान्वित भएका छन् । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ६८.६० रुपैयाँ बढेर ७५४.७० रुपैयाँ प्रतिकित्ता कायम छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशत बढेर दुई हजार दुई सय ५४ रुपैयाँ कायम छ । लक्ष्मी भ्यालु फन्ड टु, मेगा म्युचुअल फन्ड १, रुरु जलविद्युत्जस्ता कम्पनीहरूको सेयर मूूल्य बढेको छ ।

२३ अर्ब ७१ करोड कारोबार
परिसूचक घटे पनि सेयर कारोबार रकमले एक साताअघिको कीर्तिमानी तोडेको छ । १६ साउनमा सेयर कारोबार २१ अर्ब ९१ करोड पुगेर तीन वर्षअघिको कीर्तिमानी तोडिएको थियो । मंगलबार कारोबार २३ अर्ब ७१ करोड कायम भएको छ । कारोबारमा  हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी, सिइबिडी हाइड्रोपावर कम्पनी, सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्ट कम्पनी, माउन्टेन इनर्जी नेपाल, हाथवे इन्भेस्टमेन्ट नेपाल र नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी हिस्सेदारी बनाएका छन् । सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स छ । यसको एक अर्ब ३९ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

परिसूचक घटे पनि कारोबार बढ्दा बजार पुँजीकरण ४२ खर्ब आठ अर्ब रुपैयाँ कायम भएको छ । देशको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब चार अर्ब रुपैयाँ पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । जसअनुसार बजार पुँजीकरण अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन)को ७३.७७ प्रतिशत पुगेको छ ।

See More On

सुझावित समाचार