बंगलादेशमा संसद् भंग, अन्तरिम सरकार गठनमा अझै अन्योल

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

नागरिक विद्रोहले प्रधानमन्त्री शेख हसिना राजीनामा गरेर विदेश भागेको दोस्रो दिन पनि बंगलादेशको राजनीतिक जटिलता समाधानतिर गइसकेको छैन । राष्ट्रपति मोहम्मद शाहबुद्दिनले मंगलबार संसद् पनि भंग गरेका छन् । तर, नयाँ सरकार गठनबारे अझै अन्योल छ । 

संसद् विघटन विद्यार्थी आन्दोलनको प्रमुख मागमध्ये एक थियो । यही वर्ष जनवरीमा भएको चुनावबाट शेख हसिना नेतृत्वको अवामी लिगले बहुमत पाएको थियो । बहुमतका बलमा हसिनाले विपक्षीमाथि दमन गरेकी थिइन् ।

प्रधानमन्त्री हसिनाको बहिर्गमनपछि विद्यार्थी आन्दोलनका नेताहरूले बंगलादेशको वर्तमान राजनीतिक अवस्था सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् । बंगलादेशका सञ्चारमाध्यमहरूका अनुसार आन्दोलनकारी विद्यार्थीले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसको नाम प्रस्ताव गरेका हुन् । 

उनीहरूले युनुस सरकारको नेतृत्व गर्न तयार रहेको पनि जिकिर रहेका छन् । मंगलबार राष्ट्रपतिसँगको भेटमा उनीहरूले सेनाको प्रस्तावमा बन्ने सरकार स्वीकार्य नहुने जनाएका छन् । डेली स्टार मिडियाका अनुसार युनुस हाल पेरिसमा छन् र उनी छिट्टै ढाका पुग्नेछन् ।

‘विद्यार्थीले वास्तवमा धेरै नै कार्य गरेका छन् । उनीहरूले देशका लागि यति धेरै त्याग गर्न सक्छन् भने मेरो पनि केही जिम्मेवारी रहन्छ । त्यसकारण मैले जिम्मेवारी लिन सक्छु भनेको छु,’ युनुसलाई उद्धृत गर्दै डेली स्टारले छापेको छ । तर, यसबारे राष्ट्रपति कार्यालय तथा सेनाले केही सार्वजनिक गरेको छैन । 

उता राजधानी ढाकासहित बंगलादेशको अवस्था मंगलबार सोमबारको तुलनामा शान्त रहेको सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, अवामी लिगका नेता संलग्न रहेका होटेलमा आगजनी भएको छ । सरकारले हसिना सरकारका केही मन्त्रीलाई पक्राउ गरेको पनि सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा सर्वदलीय बैठक, अल्पसंख्यकको सुरक्षा र स्थायित्वमा चासो 
बंगलादेशको घटनाक्रमबारे भारतमा सर्वदलीय छलफल भएको छ । विदेशमन्त्री डा. एस जयशंकरले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग पछिल्लो परिस्थितिबारे जानकारी दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको निवासमा पूर्वप्रधानमन्त्री हसिनाको निर्वासन तथा बंगलादेशको सुरक्षा अवस्थाबारे छलफल भएको थियो । 

हसिनाको अमेरिकी भिसा रद्द, हसिनालाई दिल्ली छाडेर एयरफोर्सको विमान ढाकामा 
सोमबार बंगलादेशबाट भारत पुगेकी निवर्तमान प्रधानमन्त्री शेख हसिना भारत सरकारको सुरक्षा र बन्दोबस्तमा दिल्लीमा रहेकी छिन् । उनी दिल्लीमै रहेका वेला अमेरिकाले हसिनाको अमेरिकी प्रवेशाज्ञा (भिसा) रद्द गरेको अमेरिकी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाले चुनावमा हसिनाले धाँधली गरेको आरोप लगाउँदै आएको थियो । 

हसिना सवार बंगलादेशी हवाईसेनाको विमान मंगलबार भारतको गाजियाबादबाट ढाका फर्केको छ । हसिनाको साथमा रहेका सुरक्षाकर्मी पनि ढाका फर्केका छन् । भारतबाट उनी कहाँ जान्छिन् भन्ने यकिन छैन । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले मंगलबार दिल्लीमा आयोजित सर्वदलीय बैठकमा भविष्यबारे हसिना आफैँले निर्णय लिने बताए । 

हसिनालाई गाजियाबादस्थित भारतीय सेनाको हवाई अड्डामा सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटेका थिए । 

नेपाली नेता र विज्ञ के भन्छन् ?
बंगलादेशमा जारी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भाग्नुपर्ने परिस्थितिबारे नेपाली नेता तथा विज्ञले मिश्रित प्रतिक्रिया दिएका छन् । परिस्थितिलाई नेपालले नजिकबाट हेर्नुपर्ने र शान्तिका लागि नेपालले सद्भाव जनाउनुपर्ने उनीहरूको भनाइ छ । बंगलादेशमा पूर्ण सैनिक टेकओभर नभएको, तर परिस्थिति सामान्य बनाउन सेनाले सहजीकरण गरेको रणनीतिक मामिलाविज्ञको भनाइ छ । 

पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बंगलादेशको घटनाबाट पार्ने प्रभावबारे नजिकबाट अध्ययन–विश्लेषण गर्नुपर्ने बताए । ‘बंगलादेश, छिमेकीहरू, क्षेत्र र विश्वमा यसले पार्ने प्रभावबारे नजिकबाट अध्ययन विश्लेषण गर्नुपर्ने आवश्यकता छ,’ श्रेष्ठले भने, ‘यस क्षणमा हामी विश्व समुदायसँगै बंगलादेशमा शान्ति र लोकतन्त्रको पक्षमा रहन्छौँ र यसको कामना गर्दछौँ ।’ 

उनले अहिले नै घटनाको सबै पाटापक्ष र प्रभावबारे निष्कर्ष निकाल्नु हतारो हुने पनि विश्लेषण गरे । तर, शिक्षा लिनुपर्नेमा उनको जोड थियो । ‘सत्ता, शक्ति, दम्भ, अहंकार, बदला र दमनले कसैलाई पनि सधैँभरि रक्षा गर्न सक्दैन । अन्ततः सत्य र जनबलको नै जित हुन्छ र त्यसको अघि सबैले झुक्नैपर्छ,’ श्रेष्ठको भनाइ छ, ‘हामीले पनि समयमै यसलाई आत्मसात् गरेर तदनुरूप आफूलाई फेर्न र प्रस्तुत गर्न सके मात्र जनताले हामीलाई रक्षा, बल र शक्ति प्रदान गर्नेछन् ।’

पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले बंगलादेशमा विकसित घटनाक्रमबारे अध्ययनकै क्रममा रहेको टिप्पणी गरे । ‘त्यहाँको विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ, परिस्थितिको अध्ययन गरिरहेका छौँ,’ सरकारको नेतृत्वकर्ता दल एमालेका उपमहासचिवसमेत रहेका ज्ञवालीले भने । 

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले बंगलादेशको घटना नेपाल सरकारका लागि चासोको विषय भएको टिप्पणी गरे । ‘बंगलादेशको घटना नेपाल सरकारका लागि चासोको विषय हुनुपर्छ । नेपालले त्यहाँका जनताको चाहनाअनुसार शीघ्र शान्ति कायम होस् र परिस्थिति सामान्य रूपमा फर्कियोस् भन्ने आग्रह गर्दै परिस्थिति नजिकबाट नियाल्नुपर्छ,’ आचार्यको भनाइ छ । 

सेनाका पूर्वउपरथी विनोज बस्न्यातले बंगलादेशको घटनालाई सैन्य ‘कु’ भन्न नमिल्ने टिप्पणी गरे । ‘सुरक्षा स्थायित्वका लागि सेनाको सहजीकरण भएको अर्थमा यसलाई लिनुपर्छ । सेनाको सल्लाहमै प्रधानमन्त्री हसिनाको राजीनामा आएजस्तो देखिन्छ,’ बस्न्यातले भने, ‘सेनाले लोकतान्त्रिक मूल्य कायम राखेको छ । स्थायित्वका लागि सहजीकरण गरेको अर्थमा लिनुपर्छ । दक्षिण एसियाका पाकिस्तान, श्रीलंका र बंगलादेशका घटनाबाट अरू देशले पाठ सिक्नुपर्छ । यो घटनामा भूराजनीतिक चासो थपिने सम्भावना छ ।’ 

राजनीतिक–रणनीतिक चिन्तनको कमी–कमजोरीले बंगलादेशको घटना भएको बस्न्यातको टिप्पणी छ । ‘राजनीतिक नेतृत्वको कार्यक्षमता देशको अर्थतन्त्रका लागि ठीक थियो । तर, जनचाहना र नेताहरूको कार्यशैलीमा अन्तर देखियो,’ उनको भनाइ थियो । 

नेपाली सेनाका पूर्वउपरथी पूर्ण सिलवालले बंगलादेशको घटनाक्रमलाई पूर्णतः सैनिक ‘कु’ भन्न नमिल्ने बताए । ‘प्रधानमन्त्री शेख हसिनाको स्वेच्छिक बहिर्गमनपछि परिस्थिति सम्हाल्ने ठाउँमा सेना आइपुगेको हो । सेनाको अग्रसरता र सहयोगमा अन्तरिम सरकार गठन हुने र चुनावमार्फत बहुमत ल्याउने दललाई सरकार हस्तान्तरण गर्ने त्यहाँको नजिर नै छ, यसपालि पनि सेनाले त्यही गर्न खोजेजस्तो देखिँदै छ,’ बंगलादेशमा अध्ययन गरेका सिलवालले भने । 

शान्तिपूर्ण र लोकतान्त्रिक महत्वमा राष्ट्रसंघको जोड
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै हिंसाजन्य क्रियाकलापको स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतामा जोड दिएका छन् । महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गर्दै शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड दिएका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामासम्बन्धी सेना प्रमुखको घोषणा र अन्तरिम सरकार गठन गर्ने योजनासहित देशका घटनाक्रम नजिकबाट निगरानी गरिरहेको महासचिवको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । महासचिव गुटेरेसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै बंगलादेशका जनताको पक्षमा रही उनीहरूको मानव अधिकारको संरक्षणका लागि आह्वान गरेका छन् । 

पूर्वप्रधानमन्त्री जिया रिहा

राष्ट्रपतिको आदेशअनुसार बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)की अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जिया मंगलबारै रिहा भएकी छिन् । उनलाई राष्ट्रपति मोहम्मद शाहबुद्दिनले रिहा गर्ने आदेश सोमबार दिएका थिए । उनी भ्रष्टाचारको अभियोगमा पक्राउ परेर घरमै नजरबन्दमा थिइन् । ७८ वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो ।

मेजर जनरल अहसान बर्खास्त : सैनिक अधिकारीहरूको जिम्मेवारी हेरफेर

बंगलादेशको सेनाले मेजर जनरल जियाउल अहसानलाई सेवाबाट बर्खास्त गरेको छ । विपक्षी दलका नेता–कार्यकर्ताहरूमाथि दमनमा उनको संलग्नताको आशंका गरिएको छ । सेनाले लेफ्टिनेन्ट जनरल मोहम्मद सैफुल आलमलाई विदेश मन्त्रालयमा पदस्थापन गरेको छ । सरकार परिवर्तनसँगै सेनामा एकैसाथ जिम्मेवारी हेरफेर भएको हो । लेफ्टिनेन्ट जनरल मोजिबुर रहमानलाई प्रशिक्षण र डक्ट्रिन कमान्डमा, लेफ्टिनेन्ट जनरल अहमद तबरेज सम्स चौधरीलाई क्वार्टरमास्टर जनरल, लेफ्टिनेन्ट जनरल मिजानुर शमिमलाई चिफ अफ द जनरल स्टाफका रूपमा, लेफ्टिनेन्ट जनरल मोहम्मद शाहिनुल हकलाई नेसनल डिफेन्स कलेज (एनडिसी)को कमान्डेन्टमा र मेजर जनरल एएसएम रिदवानुर रहमानलाई नेसनल टेलिकम्युनिकेसन मोनिटरिङ सेन्टरको निर्देशकका रूपमा जिम्मेवारी तोकिएको सेनाले जनाएको छ । 

सुझावित समाचार