प्रेरक प्रसंग : बालक र भिखारी

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

धेरै वर्षअगाडिको कुरा हो । गोधूलि साँझको समय थियो । नदी किनारमा मन्दमन्द हावा चलिरहेको थियो । एउटा बालक नदी किनारमा बसेर आकाशतिर हेरेर रमाइरहेका थिए । उनका पछाडिबाट महिला आवाज सुनियो, ‘भाइ, साँझ परिसक्यो घर हिँड । अब अबेर गर्नुहुन्न । छिटै रात पर्छ ।’ चिरपरिचित आवाज सुनेपछि उनले पछाडि फर्केर हेरे । त्यहाँ उनकी दिदी उभिएकी थिइन् । उनले भनिन्, ‘आज चिसो धेरै बढेको छ । आमाले तिम्रा लागि न्यानो ओढ्ने पठाइदिनुभएको छ, लेऊ यो ओढ ।’

बालकले त्यो ओढ्ने लिएर ओढे अनि दिदीसँगै घरतिर लागे । बाटामा उनले एउटा भिखारीलाई देखे । भिखारीको लुगा ठाउँठाउँमा च्यातिएको थियो । ऊ चिसोले कठ्यांग्रिँदै बालकको अगाडि आइपुग्यो । ती साना बालकले भिखारीको शरीर जाडोले कामिरहेको देखे । त्यो दीनहीन भिखारीको अवस्था देख्दा ती बालकको मनमा दया भरिएर आयो । ती बालकले आफ्नाे न्यानो ओढ्ने भिखारीलाई दिए र भने, ‘बाबा, भिख माग्नु राम्रो काम होइन । भगवान्ले तपाईंलाई हातखुट्टा दिएका छन्, मिहिनेत गर्नुहोस् र मिहिनेतको कमाइ खाएर बाँच्नुहोस् । किनकि, मिहिनेत गर्ने मानिसले कहिल्यै अरूको अगाडि हात फैलाउनु पनि पर्दैन र यताउता भड्किनु पनि पर्दैन ।’

बालकका कुरा सुनेर भिखारीले बालकलाई हेरिरह्यो । भिखारीले त्यस दिनदेखि भिख माग्न छोडिदियो र मिहिनेत मजदुरी गर्न थाल्यो । त्यसरी भिखारीको हृदय परिवर्तन गर्न सफल बालकको नाम थियो नानक । तिनै बालक पछि गएर महान् सन्त गुरु नानकका नामले प्रसिद्ध भए ।

सुझावित समाचार