रेड अलर्ट जारी भएका ३४ जिल्लामा भोलिसम्म रात्रिबस चलाउन रोक

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण
रेड अलर्ट जारी भएका ३४ जिल्लामा भोलिसम्म रात्रिबस चलाउन रोक

फाइल तस्बिर

सरकारले रेड अलर्ट जारी भएका ३४ जिल्लामा भोलि बुधबारसम्म रात्रिबस चलाउन रोक लगाएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार ठूलो वर्षा भइरहेका र उच्च जोखिममा रहेका ३४ जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाइएको हो। 

‘बाढीपहिरोको जोखिम रहेकाले यो निर्णय भएको हो। स्थानीय प्रशासन र सुरक्षा निकायमार्फत कार्यान्वयन हुन्छ,’ उनले भने, ‘निरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिम हुने भएकाले यात्रुले पनि जोखिम मोलेर हिँड्नुभएन। चालकले पनि रात्रिबस चलाउनुभएन,’ उनले भने।

गत असारमा भरतपुरको सिमलतालमा पहिरोमा परी दुई बस त्रिशूली नदीमा खसेपछि सरकारले रेड अलर्ट जारी भएका जिल्लामा रात्रिबस चलाउन रोक लगाउने निर्णय गरेको थियो। मनसुनी प्रणाली सोमबार रातिबाट सक्रिय बनेपछि जल तथा मौसम विज्ञान विभागले मधेश र कर्णालीबाहेक पाँच प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ।

त्यसैगरी, प्राधिकरणले बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीलाई अस्थायी रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला प्रशासन र स्थानीय तहलाई निर्देशन पनि दिएको छ।

रेडअलर्ट जारी भएका ३४ जिल्ला, जहाँ भोलिसम्म गुड्ने छैनन् रात्रिबस
मौसम पूर्वानुमान महाशाखाले कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुमलाई रेड अलर्टमा राखेको छ। त्यस्तै, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखामा रेड अलर्ट जारी भएको छ।

गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा पनि उच्च जोखिममा छन्। महाशाखाका अनुसार लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँचीमा धेरै पानी पर्ने देखिन्छ। सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा रेड अलर्ट जारी भएको छ।

सुझावित समाचार