अमेरिकाले दुई दशकपछि ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत सय मिटर दौडमा स्वर्ण जितेको छ । पेरिसमा चलिरहेको ओलम्पिक खेलकुदमा अमेरिकालाई २० वर्षपछि स्वर्ण स्प्रिन्टर खेलाडी नोआ लायल्सले दिलाएका हुन् । उनले ९.७९ सेकेन्डमा पहिलो स्थान हात पारे । अमेरिकाले यस विधामा सन् २००४ को एथेन्स ओलम्पिकमा जितेको थियो । नोआ जमैकाका किसान थम्पसनलाई पछि पार्दै पुरुष सय मिटर दौडमा स्वर्ण हात पार्दा सनसनीसमेत मचाए । नोआले थम्पसनलाई ०.००५ सेकेन्डले पछि पार्दै स्वर्ण जितेका हुन् । अमेरिकाकै पूर्वविश्व च्याम्पियन फ्रेड केर्लीले ९.८१ सेकेन्डका साथ कांस्य पदक जिते ।
नोआले गत वर्षको विश्व च्याम्पियनसिपमा तीन स्वर्ण जितेका थिए । त्यसपछि उनले पेरिस ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्यका साथ तयारी थाले । अब उनले दुई सय मिटर र रिले इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । ‘मेरा लागि योभन्दा ठूलो क्षण हो,’ नोआले भने । उनी सुरुको ५० मिटरसम्म सातौँ स्थानमा थिए । त्यसपछि दोस्रो ल्यापमा उनले आफ्नो गति बढाए । नोआले प्रतिस्पर्धीहरूलाई क्रमशः पछि पार्दै टर्च लाइन पार गरे । स्प्रिन्टरमा उनलाई जमैकाका उसेन बोल्टको नाम रहेको कीर्तिमान तोड्ने खेलाडीका रूपमा लिने गरिएको छ ।
ओलम्पिकमा ‘डेब्यु’ गरेका जमैकाका थम्पसनले दौडको अघिकांश समय नोआलाई पछि राखेका थिए । तर, अन्तिममा नोआले उत्कृष्ट फिनिसिङ गरे । सय मिटर दौडमा सहभागी आठ धावक ०.१२ सेकेन्डमा अन्तिम विन्दुमा पुगेका थिए । ओलम्पिकको इतिहासमा सय मिटर दौडमा सबै धावक १० सेकेन्डअगावै अन्तिम विन्दुमा पुगेको यो पहिलोपटक हो ।
चीनलाई पछ्याउँदै अमेरिका
पेरिस ओलम्पिकको शीर्ष स्थानमा चीनलाई अमेरिकाले पछ्याइरहेको छ । सोमबारसम्म २१ स्वर्णका साथ चीन शीर्ष स्थानमा छ । चीनले थप १७ रजत र १४ कास्य जितेको छ । अमेरिकाले दोस्रो स्थानमाथि कब्जा गरिरहँदा १९ स्वर्ण, २९ रजत र २७ कांस्य हात पारेको छ । अस्ट्रेलिया १३ स्वर्ण, ११ रजत र आठ कांस्यका साथ तेस्रो स्थानमा छ । आयोजक फ्रान्स चौथो स्थानमा छ । फ्रान्सले १२ स्वर्ण, १५ रजत र १८ कांस्य जितेको छ ।