प्रवासमा बसेर पत्रकारिता गरिरहेका तिलु शर्मा पौडेलले तीजको कोसेली ‘छोरी भ’र जन्मनु’ बोलको गीत दर्शक स्रोतामाझ ल्याएका छन्। गीतमा चर्चित गायिका शान्तिश्री परियारले आवाज भरेकी छिन् भने गीतको संगीत संयोजन याम थापामगरले गरेका छन्।
नेपाली समुदायमा अझै पनि छोरा नै चाहिने मान्यता छ। सातवटी छोरी जन्मिसक्दा पनि छोराकै चाहना राख्नेहरू छन्। कूल र वंश धान्न छोरो नै चाहिने रुढीवादी परम्पराका विषयवस्तु गीतमा समेटिएको छ। गीत र म्युजिक भिडियोमा छोरी र बुहारीलाई भिन्नता देख्न नहुने, नारीहरू सबै एकै हुन् भन्ने सन्देश पनि समेटिएको छ। उक्त गीतको भिडियोलाई बाबा इन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतका शब्दहरू म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउँदै आएका संगीत व्यवसायीसमेत रहेका तिलु पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउँदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले संकलन गरेका हुन्।
बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको गीतको भिडियोमा अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छिन्। सन्ध्या अर्यालले जेठी छोरी (नर्स) र वर्षा लम्सालले कलेज पढ्दै गरेकी कान्छी छोरीको भूमिका निभाएका छन।
पछिल्लो समयका अतिव्यस्त निर्देशक प्रवीण थापाको कथा तथा क्रोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका हुन्।