सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन अभियानबाट महिला नेतृत्व ५० प्रतिशतभन्दा बढी भई सशक्त हुँदै गएको दाबी गरेको छ । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामुदायिक वन अभियानबाट देशको कुल भूभागको ४५ प्रतिशतभन्दा बढी क्षेत्रफल बनाउन योगदान पुगेको र काठलगायत जडीबुटी र गैरकाष्ठ वन पैदावारको आपूर्तिमा वृद्धि भएको जनाएको हो ।
महासंघका अध्यक्ष ठाकुर भण्डारीले २५ साउनमा विभिन्न कार्यक्रम गरी सामुदायिक वन दिवस मनाउन गइरहेको जानकारी गराए । यस अभियानबाट वन तथा वातावरणको संरक्षणका साथै वनको दिगो व्यवस्थापन र जैविक विविधताको संरक्षण भएको, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै प्रकोप जाेखिम न्यूनीकरणमा योगदान भएको बताए । यसले वन पैदावारमा आधारित लघु उद्यम सामुदायिक पर्या–पर्यटन र कृषि वनका माध्यमबाट खाद्य सुरक्षामा वृद्धि भएको उनको भनाइ थियो ।
सामुदायिक वनका रूपमा दिगो वन व्यवस्थापनका लागि स्थानीय समुदायलाई वन हस्तान्तरण गर्न सुरुवात गरिएको दिनको स्मरणस्वरूप २५ साउनमा सामुदायिक वन दिवस मनाइँदै आएको छ । यस वर्ष महासंघ र सरकारी निकाय तथा वन उपभोक्ता समूहले ‘सामुदायिक वनको प्रभावकारिता : तीनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ सप्ताहव्यापी रूपमा दिवस मनाउन लागेको महासंघले जनाएको छ ।