बुटवल–नारायणगढ सडकको म्याद तेस्रोपटक एक वर्ष थप

तीन महिना काम नगर्ने पक्षमा ठेकेदार कम्पनी, यो वर्ष पनि दसैँमा यात्रुलाई सास्ती हुने

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण
बुटवल–नारायणगढ सडकको म्याद तेस्रोपटक एक वर्ष थप

निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड । फाइल तस्बिर : नयाँ पत्रिका

दुईपटक समय थप गर्दा पनि निर्माण सम्पन्न नभएको बुटवल–नारायणगढ सडकखण्डको सम्झौता पुनः एक वर्ष थप गरिएको छ । सरकारले अन्तिमपटक भन्दै एक वर्ष काम गर्ने समय थप गरिदिए पनि सडक निर्माणको जिम्मा लिएको चाइना स्टेट कम्पनीले भने वर्षा, चाडपर्वलगायतको बहानामा अझै कम्तीमा तीन महिना काम नगर्ने जनाएको छ ।

सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यो सडकखण्डको यात्रा निकै कष्टकर हुने गरेको छ ।सडक यही अवस्थामा रहे ठूलो चाड दसैँ–तिहारमा पनि यात्रा निकै कष्टकर हुने निश्चित देखिएको छ ।  ०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी ०७५ चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो ।  

सडक विभागका आयोजना निर्देशक चुडाराज ढकालले ठेकेदार कम्पनीले वर्षाका कारण भन्दै १५ कात्तिकबाट मात्र कालोपत्रेसहित विस्तारको काम अघि बढाउने प्रस्ताव गरेको जानकारी दिए । उनले भने, ‘वर्षाले गर्दा मर्मतबाहेक अन्य सडक विस्तारको काम कात्तिक मध्यदेखि मात्र गर्ने प्रस्ताव ठेकेदार कम्पनीले गरेको थियो, मैले कुनै पनि हालतमा हुन्न भनेर थर्काएर पठाएको छु, सायद एक–डेढ हप्तामा काममा फर्कन्छ होला ।’ तत्काल काममा नफर्के ठेकेदार कम्पनीको म्याद थपको पत्र नदिने चेतावनी दिएको पनि उनले बताए । उनले भने, ‘हामीले अहिलेसम्म उनीहरूलाई म्याद थपको पत्र दिएका छैनौँ, अनेक बहाना हामीलाई स्वीकार्य छैन, तत्काल सडक विस्तारको काम नगर्ने हो भने हामी म्याद थपको पत्र दिन सक्दैनौँ ।

सरकारले चिनियाँ ठेकेदार कम्पनीको म्याद तेस्रोपटक ८ साउनदेखि लागू हुने गरी १० साउनमा एक वर्ष थप गरेको थियो । निर्माण कम्पनीले गत वैशाखको अन्तिम सातादेखि नै रकम अभावको कारण देखाउँदै निर्माण रोक्दा वर्षामा यात्रुहरूले सास्ती भोग्नुपरेको छ । सोही कारण कुनै पनि बहाना बनाएर ठेकेदारले काम रोक्न नहुने पक्षमा स्थानीय बासिन्दा रहेका छन् । स्थानीय लक्ष्मी श्रेष्ठले भने, ‘वर्षा, दसैँ–तिहारको बहाना बनाएर कात्तिकसम्म काम नगर्ने अनि वैशाख लाग्दा–नलाग्दै फेरि वर्षा लाग्यो भनेर काम नगर्ने । यो भनेको काम नगर्ने बहाना हो ।

सरकारले म्याद थपेलगत्तै ठेकेदार कम्पनी सडकमा काममा व्यस्त देखिनुपर्ने भए पनि अहिले निर्माणस्थलमा ठेकेदार कम्पनीको उपस्थिति छैन । म्याद थपिँदा पनि सडकमा कामदार नदेखेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले चिनियाँ ठेकेदार कम्पनीको कार्यालय गैँडाकोटमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा कार्यालयमा एकजना गार्डबाहेक कुनै कर्मचारी नभेटिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिए । ‘म्याद थपिएको यत्रो दिन हुँदा पनि सडकमा कुनै गतिविधि नदेखिएपछि अनुगमनका लागि छड्के निरीक्षण गरेका थियौँ, तर सबै कर्मचारी काठमाडौं गएर बसेका रहेछन्, कार्यालय एकजना गार्डको भरमा रहेछ ।’ कार्यालय कर्मचारीविहीन भएपछि ठेकेदार कम्पनीलाई कार्यालयमा र सडकमा उपस्थित नहुनुको करणसहित स्पष्टीकरण सोधेको प्रजिअ पोख्रेलले बताए ।

सडक आयोजना उभियो ठेकेदारका पक्षमा 
तत्काल सडक विस्तारको काम अघि बढाउन चौतर्फी आवाज उठिरहेका वेला सडक आयोजना पूर्वी खण्ड भने ठेकेदारकै पक्षमा उभिएको छ । पूर्वी खण्डका सडक आयोजना प्रमुख आशिष थापाले अब अढाई महिना खासै द्रुत रूपमा काम गर्ने मौसम नभएको बताए । ‘साउन–भदौमा कतिवेला पानी पर्छ भन्नै सकिन्न, त्यसैले काम हुने अवस्था पनि रहेन, असोज लागेपछि दसैँ–तिहारको माहोल हुन्छ,’ उनले भने, ‘त्यसैले अब तीव्र गतिमा काम हुने भनेको कात्तिक १५ पछि हो ।’ वर्षाका कारण सडक कालोपत्रे र विस्तारको काम नभए पनि पर्खाल निर्माण र मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताए । ‘सडक विस्तारको काम पूर्ण रूपमा बन्द छ भन्न त मिल्दैन, तर यो समयमा सडक कालोपत्रेबाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदार खटिएका छन्,’ उनले भने ।

  सडकको भौतिक प्रगति अहिले पूर्र्वी खण्डमा ५२ प्रतिशत रहेको इन्जिनियर खनालले बताए । एक सय १३ किमि सडकमध्ये ७० किमि चार लेन, २९ किमि चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि तीन लेन, ६४ पुल, चार सय ६२ कल्भर्टलगायत संरचना निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको यो आयोजनामा हालसम्म २६ दशमलव पाँच किमि चार लेन र २२ किमि दुई लेन सडक कालोपत्रे, ४२ पुल र तीन सय ८० कल्भर्ट निर्माण गरिएको छ ।

सडक विभागका आयोजना निर्देशक चुडाराज ढकाल भन्छन्– वर्षाले गर्दा मर्मतबाहेक अन्य सडक विस्तारको काम कात्तिक मध्यदेखि मात्र गर्ने प्रस्ताव ठेकेदार कम्पनीले गरेको थियो, मैले कुनै पनि हालतमा हुन्न भनेर थर्काएर पठाएको छु, सायद एक–डेढ हप्तामा काममा फर्कन्छ होला । हामीले अहिलेसम्म उनीहरूलाई म्याद थपको पत्र दिएका छैनौँ, अनेक बहाना हामीलाई स्वीकार्य छैन, तत्काल सडक विस्तारको काम नगर्ने हो भने हामी म्याद थपको पत्र दिन सक्दैनौँ ।

सुझावित समाचार