बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्)लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयले अध्ययन सामग्रीका रूपमा पठनपाठनमा समावेश गर्ने भएका छन्। पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो।
सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेसनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रूपमा पठनपाठनमा समावेश गराउन लागेको हो। को–हजबेन्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ।
यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलोजिकल एसोसिएन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल एन्थ्रोपोलोजी फिल्म एन्ड मिडिया फेस्टिबलमा को–हजबेन्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो।
बहुपति प्रथामा आधारित यो वृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्। करिब चार वर्षको छायांकनमा सो वृत्तचित्र निर्माण गरिएको हो। साइन मिडिया प्रालिले निर्माण गरेको वृत्तचित्रको लेखन पनि निर्देशक पाण्डेले नै गरेका हुन्।
पाण्डेले मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामग्रीको रूपमा ‘को–हजबेन्ड’लाई समावेश गरिनु देशका लागि पनि गर्वको कुरा रहेको बताए। यसअघि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो।