शिक्षाविद् तुलसी थपलियालाई तीन प्रश्न

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

केही अघिको एसइई र अहिलेको कक्षा १२ को नतिजाले के संकेत गरेका छन् ?
दुवैको नतिजा अपेक्षाअनुरूप आएको छैन । यसबाट हाम्रो सिकाइको उपलब्धि कमजोर छ भन्ने प्रस्ट भएको छ । यस्तो नतिजा आउनुको पछाडि हाम्रा विद्यार्थीले सिक्नुपर्ने आधारतभूत विषय सानै कक्षादेखि नसिक्नु वा सिक्ने अवसर नपाउनु पनि एउटा कारण हो । जब जग नै कमजोर छ भने माथिल्लो कक्षामा पुगिसकेपछि राम्रो नतिजाको अपेक्षा कसरी पूरा होला र ? हाम्रो कक्षा ११ र १२ को तहमा न्यूनतम पूर्वाधार, लगानी र क्षमतावान् जनशक्तिको समेत अभाव छ । विगतमा प्रवीणता प्रमाणपत्र तहमा भएको जनशक्तिसमेत अहिले कक्षा ११ र १२ ले पाउन सकेको छैन । हामीले यो तहका विद्यार्थीलाई कम समय दिएका छौँ । राम्रा शिक्षक दिन सकेका छैनौँ । अनि कसरी आओस् राम्रो नतिजा ?

यस्तो कमजोर नतिजाको प्रभाव कस्तो हुन सक्छ ?
निश्चित उमेर पार गरिसकेका विद्यार्थीको यो तहमा हुने असफलताले उनीहरूको पठनपाठनकै निरन्तरतामा ठेस लाग्न सक्छ । यो असफलतापछि कतिपय विद्यार्थी श्रम बजारतिर जान सक्छन् । यसका लागि उनीहरूलाई सिपको खाँचो पर्छ । आवश्यकताअनुसार उनीहरूलाई सिप सिकाएर आन्तरिक या वाह्य श्रम बजारमा पठाउने व्यवस्था गर्नुपर्छ । अन्यथा, उनीहरूमा निराशा र कुण्ठा बढ्नेछ । यसले समाज र राष्ट्रमै नकारात्मक प्रभाव पार्न सक्छ ।  

यो अवस्थामा सुधार ल्याउन सकिन्न र ?
यस्तो अवस्थामा सुधार ल्याउन लामो प्रयासको खाँचो पर्छ । विद्यार्थीलाई सानो कक्षादेखि नै नियमित मूल्यांकन प्रक्रियामार्फत सिकाइ उपलब्धिको मापन गर्ने, अभिभावकलाई सचेत गराएर विद्यार्थीको उपस्थिति नियमित गराउने, लगानी बढाउने र दक्ष जनशक्तिको व्यवस्थापन गर्नेलगायत पक्षमा ध्यान दिनुपर्छ ।   

सुझावित समाचार