जिल्ला प्रहरी कार्यालय लमजुङले फरार अपराधी पक्राउ गर्न सक्रियता देखाए पनि ३२० वर्ष नौ महिना २८ दिन कैद भुक्तान गर्न बाँकी छ । लमजुङमा विभिन्न अपराधमा जिल्ला अदालतबाट सजाय पाएका अभियुक्तहरूबाट ३२० वर्षभन्दा बढीको कैद सजाय भुक्तान हुन बाँकी रहेको जिल्ला अदालतले जनाएको हो ।
गत आर्थिक वर्षसम्म अदालतमा पेस भएका मुद्दामध्ये फैसला भई कैद सजाय सुनाइएका विभिन्न मुद्दाका अभियुक्तहरूबाट ३२० वर्ष नौ महिना २८ दिनको कैद भुक्तान हुन बाँकी रहेको अदालतको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष ०७९/८० सम्म लमजुङ जिल्ला अदालतबाट ३१३ वर्ष चार महिना चार दिनको कैद फर्स्याेट हुन बाँकी रहेको थियो । गत वर्ष आर्थिक वर्ष ०७९/८० का बाँकी र आर्थिक वर्ष ०८०/८१ मा थपिएका मुद्दाका फैसलासमेत गरी ३२० वर्ष नौ महिना २८ दिनको कैद भुक्तान हुन बाँकी रहेको हो ।
गत आर्थिक वर्ष ०८०/८१ मा जिल्ला अदालतले आर्थिक वर्ष ०७९/८० बाट जिम्मेवारी सरेका ३१३ वर्ष चार महिना चार दिनको कैदमध्ये आठ वर्ष सात महिना दुई दिनको कैद फर्स्याेट गरेको थियो । गत आर्थिक वर्ष ०८०/८१ मा थप १७२ वर्ष नौ महिना १४ दिनको कैद लगत थपिएकोमा १५६ वर्ष आठ महिना १८ दिनको कैद फर्स्याेट भई ३४ प्रतिशत प्रगति भएको छ । गत आर्थिक वर्ष ०८०/८१ मा जिल्ला अदालतले जरिवाना लगतमा नाै प्रतिशत मात्र प्रगति गरेको छ ।