४३ हजार दुई सय ट्याबलेट लागुऔषधसहित प्रहरीले पोखराबाट दुईजनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका– ८ न्युरोडस्थित होटेल दीपदर्शनको कोठाभित्र लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको लागुऔषध फेला पारेको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।
होटेलको कोठाबाट लागुऔषध फेला पारेपछि होटेल सञ्चालक जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका– ८ स्थायी घर भई हाल पोखरा– ९ न्युरोड बस्ने वर्ष ३७ की इन्दुदेवी श्रेष्ठ र होटेलका म्यानेजर जिल्ला स्याङ्जा आँधीखोला गाउँपालिका– ३ घर भई हाल पोखरा– १७ बिरौटा बस्ने वर्ष २५ का मिलन पौडेललाई नियन्त्रणमा लिएको बिहीबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख थापाले जानकारी दिए।
होटेल दीपदर्शनमा अवैध रूपमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले होटेलको कोठाभित्र लुकाइछिपाई राखेको टेपेन्टाजोल नाम गरेको लागुऔषध फेला पारेको हो।
नियन्त्रणमा लिएका दुईजनालाई कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।