३४औँ ग्रीष्मकालीन ओलम्पिकमा सहभागीमध्ये मुस्लिम राष्ट्रका महिला खेलाडीले शरीर ढाक्ने पहिरन (हिजाब) लगाएर खेलिरहेका छन्
पेरिस ओलम्पिकमा २०६ राष्ट्रका १० हजार सात सय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागीमध्ये मुस्लिम राष्ट्रका पुरुष र महिला खेलाडी पनि छन् । मुस्लिम महिला खेलाडीले अर्धनग्न भएर प्रतिस्पर्धा गर्ने खेलमा हिजाब पोसाक लगाएका छन् । यद्यपि, मुस्लिम पुरुष खेलाडीले प्रतियोगिताको नियमअनुसारकै ड्रेस कोर्ड लगाएका छन् ।
स्विमिङ र बिच–भलिबलमा अर्धनग्न भएर खेलाडीले प्रतिस्पर्धा गर्नुपर्छ । तर, यी दुई खेलमा मुस्लिम राष्ट्रबाट प्रतिनिधित्व गरेका महिला खेलाडीले पूरै शरीर ढाक्ने पोसाक लगाएका छन् । यो पहिरनलाई नै हिजाब भनिन्छ । इजिप्टकी डोआ बायसी लगातार तेस्रोे ओलम्पिक सहभागितामा पनि हिजाबमा देखिएकी छिन् । उनको विधा नै बिच–भलिबल हो ।
पेरिस ओलम्पिकमा अन्तर्राष्ट्रिय मिडियाहरू हिजाबमा प्रतिस्पर्धा गरिरहेकी डोआमाथि केन्द्रित भएका छन् । इजिप्टबाट बिच–भलिबलमा लगातार तीन ओलम्पिक खेल्ने उनी पहिलो महिला हुन् । यसकारण अन्तर्राष्ट्रिय मिडिया उनीतर्फ केन्द्रित भएका हुन् । उनकी जोडी नाडा मिवाडले रियो ओलम्पिक खेलेकी थिइन् । यसपटक नाडा डोआनालाई साथ दिइरहेकी छिन् । फ्रान्सका प्रसिद्ध कोपाकावाना बिचमा महिला बिच–भलिबल प्रतियोगिता चलिरहेको छ ।
समूह चरणको पहिलो खेलमा इजिप्टले जर्मनीविरुद्ध खेलेको थियो । जर्मनका खेलाडी बिकिनीमा प्रस्तुत हुँदा डोआना जोडी हिजाबमा थियो । खेलकुदको माध्यमबाट संस्कृति प्रवद्र्धन संज्ञा दिइएको छ । ‘खेलको शक्ति यही हो । मैदानमा बिकिनी र हिजाबमा प्रतिस्पर्धा भइरहेको छ,’ डोआनाले भनिन् ।
शरीर ढाक्ने पहिरन देख्दा दर्शक अचम्मित
रमाइलो पक्ष के रह्यो भने खेल समाप्तिपछि दर्शकहरूले डोआनासँग हिजाबको इतिहास भन्न आग्रह गरेका थिए । ‘खेलपछि अचम्मित भएँ । धेरैजसो दर्शकले मेरो कालो लुगा कस्तो हो भनी सोधे,’ उनले भनिन्, ‘हाम्रो संस्कृतिमा बिकिनी लगाएर खेल्न अनुमति छैन । शरीर ढाक्ने गरी लुगा लगाउनुपर्छ ।’
मुस्लिम समुदाय भएकी कारण आफूले बिकिनीमा प्रतिस्पर्धा गर्न नमिल्ने उनले बताइन् । ‘मुस्लिम भएकै कारण बिकिनी लगाएर खेल्न अनुमति छैन,’ उनी भन्छिन् । सन् २०१६ को रियो ओलम्पिकमा इघोबासले डोआनाले जस्तै यस्तै धेरै प्रश्न सामना गरेकी थिइन् । ब्राजिलमा भएको ओलम्पिकमा उनले हिजाबमा लगाउँदा धेरै दर्शक ट्वाल्ल परेका थिए ।
‘तपाईं मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ भने खेल खेल्न कुनै प्रतिबन्ध छैन, तर त्यसमा नियम छ,’ इघोबासले भनिन्, ‘भलिबल वा बिच–भलिबलमा प्रतिस्पर्धा गर्दा हिजाब लगाउनुपर्छ, योविना खेल्नु भनेको धर्मविरोधी मानिन्छ ।’ अन्तर्राष्ट्रिय भलिबल महासंघले बिच–भलिबल वा भलिबल खेल्दा महिलालाई वान पिस वा टु पिसमा खेल्नुपर्ने नियम बनाएको छ । महिला खेलाडीलाई सेक्सी बनाउन नै महासंघले यस्तो नियम बनाएको हो । तर, मुस्लिम समुदायका खेलाडीलाई अनिवार्य गरिएको छैन ।