२२ वर्षपछि काठमाडौं वडा ८ को आफ्नै भवन, मेयर साहले गरे उद्घाटन

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका वडा नं ८ ले २२ वर्षपछि आफ्नै कार्यालय भवन पाएको छ। नवनिर्मित भवनको मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल र वडाध्यक्ष आशामान संगतले शिलापत्र अनावरणसहित रिबन काटेर समुद्घाटन गरेका हुन्।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडाध्यक्ष आशामान संगतले विगत २२ वर्षको प्रतीक्षापछि वडावासीले अब नयाँ भवनबाट सेवा पाउने बताए। पशुपतिनाथपरिसरमा रहेको वडा भवन गुरुयोजना लागू गर्ने क्रममा भत्काइएपछि करिब २२ वर्षपछि कोषले जग्गा उपलब्ध गराएपश्चात् भवन बनाइएको जानकारी दिए।

त्यस्तै, महानगरका प्रमुख बालेन शाहले ऐतिहासिक वडा भवन उद्घाटन गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै अहिले भाषणभन्दा पनि काम गर्ने वेला रहेको बताए।

महानगरले करिब तीन करोडको लागतमा बनाएको वडा भवन पशुपति क्षेत्र विस्तारका क्रममा भत्काइएको थियो। भवन भत्काएपछि कोषअन्तर्गतकै अमालकोट कचहरी कार्यालय रहेको जयबागेश्वरीबाट वडा कार्यालय चलिरहेको थियो।

नवनिर्मित वडा भवन २०७९ माघ १३ गते महानगर प्रमुख शाहले शिलान्यास गरेका थिए।

सुझावित समाचार