नेपालकै पहिलो स्मार्ट भिलेज घलेगाउँमा एक वर्षमा २५ हजार पर्यटक पुगेका छन्। पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेका अनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्म २५ हजार पर्यटकले घलेगाउँ घुमेका हुन्।
गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेका लागि पुग्ने गरेका छन्। घलेगाउँमा दैनिक तीन सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ। घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिकस्तर पनि उकासिएकोे छ।
०५७ सालदेखि १२ घरबाट घलेगाउँमा होमस्टे सञ्चालन गरिएको थियो। घलेगाउँका एक सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ। समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँ स्मार्ट भिलेज र सुखी गाउँका रूपमा परिचित छ।
घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेशलगायत दर्जन हिमाल देख्न सकिन्छ। घलेगाउँ आउने पर्यटकलाई उनीहरूको चाहनाअनुरूप गुरुङ संस्कृति घाटु, सोरठी, कृष्णचरित्रलगायतका पौराणिक नृत्य देखाइने गरिन्छ। सूर्योदय र सूर्यास्तको मनोरम दृश्य, गोर्खा आर्मी पार्क, पर्यटन संग्रहालय, रंगशालालगायतले घलेगाउँलाई आकर्षित बनाएको छ।