नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु. २५ अर्ब बढी राजस्व संकलन भएको छ।
आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु. २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व संकलन गरेको हो। आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तःशुल्कतर्फ रु. २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व संकलन गरेको जनाएको छ।
कार्यालयले गत आवमा आयकरतर्फ रु. ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. ४२ करोड ३१ लाख ३९ हजार, ब्याज रु. ६ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ रु. तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ रु. एक करोड ९२ लाख ८४ हजार र अन्य रु. दुई लाख ४१ हजार राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।
आव ०८०/८१ मा कार्यालयले रु. ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार राजस्व संकलनको लक्ष्य प्राप्त गरेको थियो। उक्त लक्ष्यको आधारमा गत आवमा ६८.०२ प्रतिशत राजस्व संकलन भएको उनले बताए। आव ०७९/८० को तुलनमा गत आवमा कम राजस्व संकलन भएको उनको भनाइ छ।
आव ०७९/८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व संकलन भएको थियो। गत आवमा अन्तःशुल्कतर्फ मात्र रु. ३६ अर्ब राजस्व संकलनको लक्ष्य प्रदान गरिएको थियो।
खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको संकुचनले गर्दा अन्तःशुल्कको संकलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए। ‘जिल्लामा राजस्व संकलनको ठूलो हिस्सा अन्तःशुल्कको रहेको छ। यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचअनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन,’ उनले भने, ‘लक्ष्यअनुसार राजस्व संकलन नभए पनि तुलनात्मक रूपमा यो सकारात्मक परिणाम हो।’