३४ वर्षपछि भारतले एसिया कप आयोजना गर्ने

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

एसियन क्रिकेट काउन्सिल (एसिसी)ले लगातार दुई संस्करणको एसिया कप क्रिकेट प्रतियोगिताको आयोजक राष्ट्र घोषणा गरेको छ । भारत सन् २०२५ र बंगलादेशले सन् २०२७ मा टी–२० फम्र्याटमा आयोजना हुने एसिया कप गर्नेछन् । 

भारतले एसिया कप आयोजना गर्न ३४ वर्ष प्रतीक्षा गर्यो । एसिया कपकै सर्वाधिक विजेता भारतले अन्तिमपटक एसिया कप सन् १९९० मा गरेको थियो । दोस्रोपटक एसिया कप आयोजना गर्ने अवसर पाउँदा भारतले आइसिसी टी–२० विश्वकपको पूर्वतयारीका रूपमा लिएको छ । 

भारतले प्रतियोगिता आठपटक जितेको छ । श्रीलंकाले एसिया कप ६ र पाकिस्तानले दुईपटक उपाधि उचालेको छ । एसिया कप सातपटक एकदिवसीय फम्र्याटमा भएको थियो । पछिल्लोपटक प्रतियोगिता टी–२० फम्र्याटमा भइरहेको छ । सन् २०२३ को संस्करण पाकिस्तानले गरेको थियो । तर, भारतले सुरक्षा कारण देखाउँदै पाकिस्तान नजाने निर्णय लियो । त्यसपछि हाइब्रिड मोडलअनुसार भारत र पाकिस्तानबीच तटस्थ भूमिमा खेल भयो । गत संस्करणका धेरै खेल श्रीलंकामा भएका थिए । गत वर्षको संस्करणमा नेपालले भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलोपटक भारत र पाकिस्तानको सिनियर टोलीविरुद्ध प्रतिस्पर्धा गर्न अवसर पाएको थियो । 

पाकिस्तानले एक दशकअगाडि सन् २०१३ मा अन्तिमपटक भारतीय भूमिमा क्रिकेट सिरिज खेलेको थियो । सन् २०१६ को आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्न भारतीय भूमिमा पाकिस्तान आएको थियो । गत वर्षको एकदिवसीय विश्वकपमा समेत पाकिस्तानले भारतमा प्रतिस्पर्धा गरेको थियो । 

सुझावित समाचार