पृतनापतिहरूलाई प्रधानसेनापतिको सम्बोधन

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

प्रधानसेनापति प्रभुराम शार्माले नेपाली सेनाका सातै पृतनापतिलाई सम्बोधन गरेका छन् । दश दिनपछि घरबिदामा बस्न लागेका शर्माले मंगलबार भिडियो माध्यमबाट सधैँ राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितअनुरूप असरदार रूपमा कार्य गर्न पृतनापतिहरूलाई निर्देशन दिएका छन् । 

शर्माले व्यक्तिकेन्द्रित आकस्मिक योजनाभन्दा पनि वस्तुगत अन्तत्र्रिmया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहितको सामूहिक योजनामा जोड दिएका छन् । उनले सेना समस्त नेपाली जनताको आड र भरोसाको धरोहर रहेकोसमेत उल्लेख गरेका छन् । शर्माले नेपाली सेनाले अनुसरण गर्दै आएको सैनिक मूल्य–मान्यतालाई अक्षुण्ण राख्दै एक भरोसादार एवं प्रभावकारी संगठनका रूपमा स्थापित गराउनुपर्ने बताए । उनले भावी नेतृत्वलाई समेत आफूलाई जस्तै साथ–सहयोग गर्न अनुरोध गरे । 

शर्माले बलाधिकृत रथी अशोकराज सिग्देल युद्धकार्य, विभागका निमित्त विभागीय प्रमुखलगायत रथीवृन्द तथा अधिकृतहरूलाई साथमा राखेर सम्बोधन गरेका थिए । पृतनापतिहरूले प्रधानसेनापतिसमक्ष विद्यमान विपत् प्रतिकार्यमा फौजको परिचालनलगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत संक्षिप्त जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोमबार मन्त्रिपरिषद् बैठकले वरीयताका आधारमा बलाधिकृत रथी सिग्देललाई २४ साउनदेखि लागू हुने गरी कामु प्रधानसेनापनि नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरिसकेको छ । शर्माको ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधानसेनापतिको तीनवर्षे कार्यकाल आगामी २४ भदौमा सकिँदै छ । कार्यकालको उत्तराद्र्धमा पृतनापतिहरूलाई सम्बोधन गर्दै उनले तीनवर्षे कार्यकालमा सहयोगका लागि सबैलाई धन्यवाद दिए । शर्मा २४ साउनदेखि घरबिदामा बस्नेछन् ।
 

सुझावित समाचार