ताक्लाकोट पुगेका व्यापारी अलपत्र

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

चिनियाँ पक्षको आमन्त्रणपछि ३ साउनमा चीनको (बुराङ काउन्टी) ताक्लाकोट पुगेका छांगरु र तिंकरका २७ व्यापारी अलपत्र परेका छन् । वर्षौैँदेखि त्यहीँ व्यापार गर्दै आएका व्यापारीलाई चिनियाँ पक्षले पसल खोल्ने अनुमति नदिँदा अलपत्र परेको व्यापारी योगेश बोहराले बताए । ‘चार वर्षदेखि बन्द रहेको तिंकर नाका ३ साउनदेखि खुला भएको थियो । नाका खुलेलगत्तै चिनियाँ पक्षकै आमन्त्रणपछि यहाँ आएका हौँ,’ बोहराले भने, ‘तर, हालसम्म हामीलाई पसल सञ्चालन गर्न दिइएको छैन । अहिले होटेलमा बसेर दिन बिताएका छौँ ।’ 

ताक्लाकोट पुगेका डेढ साता बढी बित्दा पनि व्यापार–व्यवसाय गर्न नपाएको भन्दै व्यापारी निराश भएका छन् । ताक्लाकोटमा रहेका व्यापारीहरूले आफूलाई व्यापार गर्न नपाएको र पसल खोल्न नपाएको विषयमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । ‘मौखिक जानकारीमा व्यापारी मार्कामा परेको भन्ने जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘यो विषयमा माथिल्लो निकायमा पहल भइरहेको छ ।’

यसैबीच व्याँस गाउँपालिका–१, छांगरु र तिंकरका व्यापारीले ताक्लाकोटमा प्रवेश गर्न पाए पनि व्यापार गर्न नपाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाइएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी व्यापार सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘तिंकर नाकाबाट स्थानीय ताक्लाकोट प्रवेश गरेका, तर त्यहाँ व्यवसाय सञ्चालन गर्न र पसल खोल्न पनि हालसम्म नपाएकाले परम्परागत रूपमा सञ्चालन गरेका पसलहरू सञ्चालनका लागि चीन सरकार र नेपालस्थित चिनियाँ राजदूतावासमा कूटनीतिक पहलका लागि निवेदन पेस गर्दछौँ ।’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले चीनको ताक्लाकोट जानका लागि एक सय ८७ जनाको पास वितरण गरेको छ ।

सुझावित समाचार