प्रेरक प्रसंग : बालक र हीरा

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

भारतीय राज्य महाराष्ट्रअन्तर्गत पर्ने रत्नागिरि जिल्लाको काटलुक गाउँमा एउटा प्राथमिक विद्यालय थियो । विद्यालयमा कक्षा चलिरहेको थियो । एक दिन एक अध्यापकले बालबालिकासित प्रश्न गरे– तिमीहरूले बाटामा हिँड्दै गर्दा एउटा मूल्यवान् हीरा भेट्यौ भने के गर्छौ ?

एक बालकले हत्तपत्त जवाफ दिए– गुरु, म त्यसलाई बजारमा लगेर बेच्छु, अनि एउटा राम्रो कार किन्छु । अर्का एक बालकले भने– म त्यसलाई बेचेर धेरै धनी मान्छे बन्छु । अर्का एकजनाले भने– म त्यसलाई बेचेर विदेश घुम्न जान्छु । 

सबैले आआफ्ना योजना सुनाउँदै गर्दा अर्का एक बालकले भने– मैले बाटामा त्यस्तो बहुमूल्य हीरा भेटेँ भने म त्यसको मालिक पत्ता लगाएर उसैलाई फिर्ता गरिदिन्छु । बालकको जवाफ सुनेर अध्यापक चकित भए । उनले फेरि प्रश्न गरे– धेरै दुःख गरेर खोज्दा पनि त्यस हीराको मालिक पत्ता लागेन वा भेटिएन भने त्यतिखेर तिमी के गर्छौ ? 

बालकले नम्र स्वरमा जवाफ दिए– मालिक भेटिएन भने म त्यस हीरालाई बजारमा बेच्छु र आएको पैसा देश सेवामा लगाउँछु । बालकको जवाफ सुनेर अध्यापक ज्यादै खुसी भए । उनले ती बालकलाई अंकमाल गर्दै भने– स्याबास, तिमी ठूलो भएपछि साँच्चै देशभक्त हुनेछौ । तिमीलाई राष्ट्रले पछिसम्म आदर गरिरहनेछ । 

ती अध्यापकको भनाइ साँच्चै सत्य ठहरियो । ती बालक जवान भएपछि साँच्चै ठूला देशभक्त बने । उनको नाम थियो, गोपालकृष्ण गोखले ।

सुझावित समाचार