कोभिड–१९ को महामारीले मृत्यु भएको विदेशी नागरिकको नाममा रहेको सम्पत्ति उपलब्ध गराइदिने प्रलोभनमा ५६ लाख १० हजार ६९९ रुपैयाँ ठगी गर्ने सिराहा इटहर्वाका २७ वर्षीय इम्तियाज अहमदलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा सम्पर्कमा आएकाहरूलाई कोभिड–१९ को महामारीमा ज्यान गुमाएका विदेशी नागरिकको वारेस बनाई दिने प्रलोभन दिन्थे।
मृतकको नाममा विदेशी बैंकस्थित खातामा रहेको रकम उपलब्ध गराइदिने आश्वासन दिन्थे। कागजात तयार गर्न रकम लाग्ने भन्दै विभिन्न व्यक्तिको बैंक खाता उपलब्ध गराइदिन्थे। प्रलोभनमा फसेकाहरूले सोही खातामा रकम जम्मा गरेपछि अहमद भारत पुगी रकम झिक्थे, र एटिएम नदीमा मिल्काइदिन्थे।
कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले सामाजिक सञ्जालमार्फत अनेक प्रलोभन दिई रकम ठगी गर्ने धन्दामा संलग्न अहमद पक्राउ परेको बताए।