मौद्रिक नीतिले उचाल्यो नेप्से

साना तथा नवप्रवेशी लगानीकर्तालाई संयमित भएर लगानी गर्न धितोपत्र बोर्डको आग्रह

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

कांग्रेस–नेकपा एमाले गठबन्धनको सरकार गठन (१७ असार)देखि निरन्तर उकालो लागेको सेयर बजारमापक नेप्से परिसूचक २८औँ दिन (आइतबार) एकै दिन बजार ११३.४२ अंकले बढेको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि खुलेको बजार ४.४१ प्रतिशतको उच्च दरले बढेर नेप्से परिसूचक २६८१.५६ विन्दुमा रोकिएको हो । 

कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा परिसूचक ४ प्रतिशतले बढेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक थप १ प्रतिशत विन्दुले बढेर ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । 

आइतबार भएको वृद्धिलाई सरोकारवालाले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिलाई कारण मानेका छन् । चालू आर्थिक वर्ष ०८१÷८२ को मौद्रिक नीति सार्वजनिक गर्दा गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्न नखोजेको स्पष्टीकरण दिएका थिए । उनले भनेका थिए, ‘हामीले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्न खोजेका होइनौँ । हामीले बैंकबाट जाने कर्जालाई मात्रै हेर्न खोजेका हौँ । बैंकका आफ्ना सीमा छन् । कर्पाेरेट क्षेत्रले लिने कर्जाको सीमा मात्रै हटाएका हौँ । व्यक्तिगतको यथावत् छ । हाम्रो पुँजी बजार अपरिपक्व छ । यसमा सतर्क हुनुपर्छ ।’

 नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार दुई सय ३५ रुपैयाँबराबरको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कुमारी बैंकको ३६ करोड १० लाखको किनबेच भएको छ । त्यस्तै, एनआइसी एसिया बैंकको ३४ करोड ८१ लाखको कारोबार भएको छ । बजारमा २२ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले बढेका छन् । त्यसमा पनि १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमा अधिकांश वाणिज्य बैंकहरूको वर्चस्व छ ।   

 बैंकिङ समूहमा बहार
सेयर बजारमा प्रभुत्व जमाएको बैंकिङ समूहको परिसूचक ९.८९ प्रतिशतको उच्च दरले बढेको छ । खासगरी पुँजी कोषको चापले कर्जा प्रवाह गर्न नसकेर ६ खर्ब हाराहारीको लगानीयोग्य तरलता थुपारिरहेका बैंक तथा वित्तीय संस्थालाई मौद्रिक नीतिले सहजता थपिदिएपछि बैंकहरूको वासलात सुध्रिने अपेक्षामा लगानीकर्ता देखिन्छन् । यसको प्रभाव आइतबार नै बैंकिङ समूहमा देखिएको हो । 

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको लगानीयोग्य पुँजीलाई कर्जामा परिणत गर्ने नीति लिएकाले अर्थतन्त्र चलायमान हुने अपेक्षाले बजार प्रभावित भएको जानकारहरू बताउँछन् । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले बैंकहरूलाई पुँजीकोष अनुपातको दबाब कम गरिदिएर कर्जा प्रवाह बढाउने नीति लिएपछि अर्थतन्त्र चलायमान बन्ने अपेक्षा गरिएको बताए । उनले भने, ‘हुन त मौद्रिक नीति आउनुअघि बजार बढिरहेको थियो । अर्थमन्त्री र प्रधानमन्त्री एउटै दलको हुनुभयो । त्यस्तै, महाप्रसाद अधिकारी पनि एमाले नेतृत्वको सरकारबाट नियुक्त हुनुभएको थियो । अब अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच झैझगडा हुँदैन भन्ने विश्वास बढेको छ ।’ 

त्यसबाहेक बैंकको नाफा बढ्ने गरी उल्लेख्य सुधार नभएको अवस्थामा बजार बढ्नुपर्ने ठोस कारण नरहेको उनको टिप्पणी छ । उनले भने, ‘सञ्चालन नाफा बढ्ने गरी बैंकले केही गरेको छैन । निजी क्षेत्रका नेतृत्वले मौद्रिक नीतिलाई स्वागत गरेकाले बजारको विश्वास बढेको देखिन्छ, नत्र मौद्रिक नीतिले प्रभाव पार्ने ब्याजदर हो । ब्याजदर पहिलेदेखि नै कम छ ।’

नीरज गिरी, पूर्वकार्यकारी निर्देशक, धितोपत्र बोर्ड
नेप्से परिसूचकमा वृद्धिका कारण मौद्रिक नीतिको प्रभाव पक्कै हो । तर, सेयर बजारलाई लगानीकर्ताको ढंगले हेर्ने हो भने अहिलेको वृद्धि जोखिमपूर्ण देखिन्छ । मौद्रिक नीतिले नियामकीय व्यवस्थामा लचकता देखाउनु सकारात्मक विषय हो । तर, परिपक्व बजारमा यत्तिका भरमा परिसूचक बढ्ने हुँदैन ।

नवप्रवेशीलाई सतर्क रहन आग्रह
अहिलेको बढिरहेको बजारमा साना र नवप्रवेशी लगानीकर्ताले सजग भएर लगानी गर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले बताए । उनले भने, ‘यस्तो समयमा सेयर बजारका खेलाडीले चलखेल गर्ने जोखिम हुन्छ । आमलगानीकर्ता संयमित हुनुपर्छ । बजार चार हजार विन्दुसम्म पुग्छ भन्ने हौवा पिटाएर साना र नवप्रवेशी लगानीकर्ता डुबाउन खोज्ने पनि सक्रिय हुन सक्छन् । कम्पनीहरूको अवस्था बुझेर मात्रै लगानी गर्नुपर्छ ।’

बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले अहिले सूचीकृत कम्पनीहरूको वित्तीय अवस्थामा सुधार नआएको अवस्थामा पनि बजार बढेकाले हौसिएर लगानी गर्न नहुने बताए । उनले भने, ‘नेप्से परिसूचकमा वृद्धिका कारण मौद्रिक नीतिको प्रभाव पक्कै हो । तर, सेयर बजारलाई लगानीकर्ताको ढंगले हेर्ने हो भने अहिलेको वृद्धि जोखिमपूर्ण देखिन्छ । मौद्रिक नीतिले नियामकीय व्यवस्थामा लचकता देखाउनु सकारात्मक विषय हो । तर, परिपक्व बजारमा यत्तिका भरमा परिसूचक बढ्ने हुँदैन ।’ 

अर्थतन्त्रका सूचकमा उल्लेख्य सुधार नभएको र नेप्सेमा सूचीकृत कम्पनीहरूको नाफा बढेर आकर्षण लाभांश घोषणा नभएको अवस्थामा बढ्दो बजारप्रति सजग हुनुपर्ने उनको तर्क छ । उनले भने, ‘यसरी बजारमा नीतिगत फेरबदल हुँदा प्रभुत्व राख्ने सेयर कारोबारीले हौस्याएर बजार बढाउने र निश्चित नाफा लिएर डम्प गर्ने प्रवृत्ति हुन सक्छ । धितोपत्र बोर्ड यसमा चनाखो हुनुपर्छ । रेलै छुट्लाजसरी सेयर बजारमा हौसिनुपर्ने कारण देखिँदैन । मूलतः पुँजी बजारको मुटु भनेको सूचीकृत कम्पनीहरू नै हुन् । कुन कम्पनीको वित्तीय स्वास्थ्य कस्तो छ, कति प्रतिफल दिन सक्छ हेर्नुपर्छ ।’ 

सुझावित समाचार