भेडेटारको स्काइवाक टावर सञ्चालनमा

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

कोशी प्रदेशकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा स्काइवाक टावर सञ्चालनमा आएको छ।

साँगुरीगढी गाउँपालिका–६ भेडेटारको चार्ल्स पोइन्टमा नेपालकै तेस्रो स्काइवाक टावर सञ्चालनमा आएको हो। भेडेटारलाई साहसिक पर्यटनको हब बनाउने उद्देश्यका साथ टावर सञ्चालनमा ल्याइएको हो।

उक्त टावरको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले भेडेटारलाई पर्यटकीय हब बनाउन स्काइवाकले सहयोग पुग्ने बताए। प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउन लागेकाले भेडेटारमा बनेको स्काइवाकले त्यसलाई टेवा पुर्याउने उनको विश्वास छ।

स्काइवाकमा ५० मिटर लामो सिसामा हिँड्न सकिन्छ। यसअघि काठमाडौंको कमलादी र इलामको कन्याममा स्काइवाक सञ्चालनमा आएको छ। भेडेटारमा सञ्चालनमा आएको स्काइवाकमा एकपटकमा २५ जनासम्म हिँड्न सकिने बताइएको छ।

करिब २० करोडको निजी लगानीमा स्काइवाक टावर निर्माण गरिएको हो। योसँगै धनकुटाको भेडेटार घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले नमस्ते झर्ना, नाम्जेको आत्मा बस्नेघर, पाथीभरा मन्दिरलगायत अवलोकन गर्न पाउनेछन्।

सुझावित समाचार