दार्चुलाकाे मालिकार्जुन गाउँपालिकाले आठवटा वडामध्ये ६ वटा वडामा पुगेर १५४ जना महिला तथा ८० जना पुरुष गरी कुल २३४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ
दार्चुलाकाे मालिकार्जुन गाउँपालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको माछापुच्छ्रे बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई शिविरको माध्यमबाट वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे हाे ।
सामाजिक सुरक्षा भत्ता वडामै बुझ्न पाएपछि जेष्ठ नागरिक पनि खुसी भएका छन् । ज्येष्ठ नागरिक गणेशसिंह धामीले भने, ‘पालिकाले वडा तहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि पालिकाको बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।’ यस कार्यले हामीलाई निकै राहत महसुस भएको छ । पालिकासम्म पुग्न धेरै समय लाग्थ्यो । वडामै आएर भत्ता पाएपछि समय बचत पनि भएको उनले बताए ।
अर्का ८५ वर्षीय वीरसिंह धामी सामाजिक सुरक्षा भत्ता वितरण गर्न कर्मचारी वडामै आएपछि मख्ख छन् । उनले भने, ‘हामीजस्ता अपांगता भएका व्यक्तिका लागि वडामै भत्ता बुझ्न पाउन खुसीको कुरा हो । पालिका पुग्दा कति ओकाली-ओराली गर्नुपर्थ्यो । अहिले वडामै कर्मचारी पुगेपछि योभन्दा सहजता अरू के हुन सक्छ ।’
मालिकार्जुन गाउँपालिका– २ का चिमती धामीले तीन घण्टा हिँड्नुपर्ने ठाउँमा अहिले वडामै भत्ता दिन कर्मचारी पुगेपछि एक घण्टामै भत्ता पाएकाे बताइन् । पालिकाले जनतालाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि स्थानीयको समय पनि बचत भएको छ ।
गाउँपालिकाले आठवटा वडामध्ये ६ वटा वडामा पुगेर १५४ जना महिला तथा ८० जना पुरुष गरी कुल २३४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सामान्य हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरू, अपांगता भएका नागरिक, बैंकसम्म स्वयं उपस्थित हुन नसक्ने अवस्था आएपछि पालिकाले हरेक त्रैमासिकमा सेवाग्राहीहरूलाई वडास्तरबाटै भत्ता वितरण गर्ने गरेको मालिकार्जुन गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख एवं एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीले जानकारी दिए ।
मालिकार्जुन गाउँपालिका– १, २, ३, ४, ५ र ६ का वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । वडा नम्बर ७ का ज्येष्ठ नागरिकको खाता भने ग्लोबल बैंकमा खोलिएको छ । ग्लोबल बैंक वडामा नहुँदा सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने गरेको वडाध्यक्ष बहादुर चन्दले बताए ।
उनले भने, ‘पहिल्यै ग्लोबल बैंकमा खाता खोलिएको रहेछ, अहिले टाढा भएर समस्या भयो भन्ने गुनासो छ ।’ पालिकामार्फत वडामै सामाजिक सुरक्षा पुग्ने व्यवस्थाका लागि आग्रह गरिएको उनले बताए ।