मीन भामको चलचित्र ‘शाम्बाला’ २८ भदौमा आउँदै

शनिबार, १२ साउन, २०८१
डिजिटल संस्करण

मीन भाम निर्देशित चलचित्र ‘शाम्बाला’ २८ भदौमा रिलिज हुने भएको छ। शुक्रबार निर्माण टिमले एक कार्यक्रम गरी चलचित्र ‘शाम्बाला’ को रिलिज मिति घोषणा गरेको हो। 

कार्यक्रममा निर्देशक भामले ‘शाम्बाला’को पहिलो सार्वजनिक प्रदर्शन २८ भदौमा नेपालबाट गरिने जानकारी दिए। ‘मैले ‘कालोपोथी’ बनाउँदा पहिलो प्रदर्शनलाई लिएर नेपाली दर्शकबाट धेरै गुनासो पाएको थिएँ। नेपालमा फिल्म बनाउने अनि विदेशमा पहिला रिलिज गर्ने र नेपालमा हेर्नलाई धेरै वर्ष कुर्नुपर्नेजस्ता गुनासो थिए,’ उनले भने, ‘तर, यसपटक शाम्बाला विदेशी फेस्टिभलमा जाँदै गर्दा पनि सार्वजनिक रूपमा पहिलोपटक नेपालमा रिलिज गर्ने मनसायले २८ भदौलाई मिति तय गरिएको हो।’

उनले शाम्बालालाई नेपालबाहेक यो वर्ष २९ वटा देशका हलमा रिलिज गर्न लागेको जानकारी दिए। ‘फ्रान्स नर्वे, स्विट्जरल्यान्ड, इन्डोनेसिया, अफ्रिकालगायतका एसियाका धेरैवटा देशका हलमा शाम्बाला लाग्दै छ,’ उनले जानकारी दिए।

निर्देशक भामले आफ्नो पहिलो फिचर फिल्म कालोपोथीको तुलनामा ‘शाम्बाला’बाट निकै आशावादी रहेको बताए। 

‘शाम्बालाबाट म धेरै आशावादी छु। कालोपोथी मेरो पहिलो फिचर फिल्म थियो। त्यो वेला फिल्म कलेज पढिसकेर एकदमै हतारमा बनाएको फिल्म थियो । कालो पोथीपछिको गुनासो, असफल-सफल र राम्रो/नराम्रो प्रतिक्रियाको आधारमा आफूलाई सुधार्नुपर्छ भन्ने महसुसले पनि यो फिल्म बनाउन धेरै समय लागेको हो। स्क्रिप्ट लेखनको प्रक्रिया र अनुसन्धानको प्रक्रियाले धेरै समय लियो,’ उनले भने। 

कार्यक्रम वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बाले शाम्बालाले उठाएको विषय आफैँमा शक्तिशाली रहेको बताए। यो चलचित्र आफूले हेरेको बताउँदै उनले भने, ‘यो सिनेमाले शक्तिशाली विषयलाई उठान गरेको छ। यो चलचित्र सजिलै बुझ्न सकिन्छ। चलचित्रले महिलाको संघर्षलाई उठाएको छ। चलचित्र पनि सफल हुनेमा ढुक्क छु।’ 

निर्देशक सुब्बाले ‘शाम्बाला’जस्तो चलचित्रलाई विश्वव्यापीकरण गर्न र नेपाली दर्शकसम्म पुर्‍याउन सबै चलचित्रकर्मीको दायित्व रहेको जिकिर गरे। ‘यस्ता सिनेमालाई नेपाली दर्शकहरूमा कसरी लैजाने र विश्वव्यापी कसरी बनाउने भन्ने कुरामा हामी सबैले सहयोग गर्नुपर्छ। हामी सबै फिल्ममेकर एउटै उद्योगभित्रका हौँ। अहिले हाम्रो प्रयास नेपाली सिनेमालाई विश्वव्यापी रूपमा स्वीकार्य गराउने र विश्वव्यापी रूपमा हाम्रो उपस्थिति सर्वव्यापी बनाउने नै हो। यसमा मीन भामले महत्वपूर्ण भूमिका खेलिरहनुभएको छ। शाम्बाला साउथ एसियाबाट बर्लिनमा तीन दशकपछि मुख्य प्रतिस्पर्धामा पुगेको थियो । नेपाली सिनेमा लागि आफैँमा ऐतिहासिक क्षण थियो,’ उनले भने। 

चलचित्रमा हिमाली भेगकी गर्भवती महिलाले व्यापारका लागि ल्हासातिर हराएका श्रीमान् खोज्दाको संघर्षका कथा समेटिएको छ। 

निर्देशक भाम र अविनाशविक्रम शाह मिलेर लेखेको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायत कलाकारहरूको अभिनय छ। फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको हो। ‘साम्बाला’ तिब्बती र नेपाली भाषामा निर्माण भएको छ। 

सुझावित समाचार