प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सतीदेवी’ ले महिला तथा बालिकालाई लक्षित गरी फोटो प्रतियोगिता ‘ठुङ मार्नुस्, नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ।
निर्माण टिमले मौलिकता झल्किने फिल्मको एउटा ग्रुप फोटो सार्वजनिक गर्दै सोही थिमअनुसारको फोटो पठाउन आह्वान गरेको हो।
फोटोमा ‘सतीदेवी’ की शीर्ष अभिनेत्री मलिका महत, सिर्जना अधिकारी, सुजिता सिवाकोटी र तीन बालिका कलाकारहरू हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पिँढीमा बसेर एकअर्काको ठुङ मारिरहेका छन्।
प्रतियोगितामा सहभागी हुन परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको एउटा फोटो खिचेर आफ्नो फेसबुक र इन्टाग्राममा ‘फिल्म सतीदेवी ०७ भदौबाट प्रदर्शन हुँदै छ’ भन्ने क्याप्सन लेखेर पोस्ट गरी फेसबुक पेज Sati Devi Nepali Movie (सतीदेवी) मा ट्याग/मेन्सन गर्ने र इन्बक्समा पठाउनुपर्नेछ। त्यसैगरी, @Laxmanzee इन्टाग्राममा अनिवार्य ट्याग/मेन्सन गर्नुपर्नेछ।
प्राप्त फोटोहरूमध्ये प्रथम स्थान हासिल गर्ने फोटोलाई २० हजार, दोस्रोलाई दश हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने निर्माण कम्पनी दिलासा क्रिएसनले जनाएको छ। फोटो पठाउने अवधि ३१ साउनसम्म तोकिएको छ।
फिल्म नारी प्रधान कथामा भएको तथा नारीहरूको महान् पर्व तीज नजिकिईरहेकाले उनीहरूको सम्मानमा यो प्रतियोगिता आयोजना गरिएको निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीले जानकारी दिए।
‘सतीदेवी पूर्ण रूपले छोरी, नारी प्रधान कथामा छ। त्यसकारण उहाँहरूको सम्मान तथा अधिक सहभागिताका लागि यो प्रतियोगिता गरेका हौँ,’ निर्देशक सुवेदीको भनाइ छ।
प्रदर्शनपूर्व नै विभिन्न उत्कृष्ट अवार्ड जितिसकेको ‘सतीदेवी’ निरन्तर चर्चामा छ। चलचित्र पत्रकार संघ नेपालले हालै एक शुभकामना विज्ञप्ति जारी गर्दै सतीदेवी फिल्मसँग अरू फिल्म नजुधाउनु र यथार्थवादी मौलिक कथाको फिल्म भएकाले आवश्यक सुविधा र सहुलियत दिन सम्बन्धित सबै संघसंस्था, सूचना प्रविधि तथा सञ्चार मन्त्रालय तथा चलचित्र विकास बोर्डलाई अनुरोध गरेको छ।
फिल्ममा मलिका महतका साथमा कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, सुजिता सिवाकोटी, मनीषा सापकोटा, बालिका कलाकार हर्षिका वली, मञ्जिला बानियाँलगायतको अभिनय रहेको छ।