कारागारका कैदीबन्दीमा क्षयरोगको संक्रमण

शनिबार, १२ साउन, २०८१
डिजिटल संस्करण

बागलुङ कारागारका पाँच जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको छ। तीन दिन पहिले कारागारमा रहेका तीन जना कैदी बन्दीमा स्वास्थ्य समस्या देखिएपछि शंकास्पद देखिएर परिक्षण गर्दा उनीहरुमा क्षयरोगको संक्रमण भेटिएको थियो ।कैदीबन्दीमा संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बागलुङले कारागारमा नै पुगेर क्षयरोगको परिक्षण गरेको थियो।

संक्रमण भएका व्यक्तिको नजिक रहेका अन्य ११ जना कैदीबन्दीमा क्षयरोगको परिक्षण गर्दा थप दुई जनामा क्षयरोग पत्ता लागेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकारी दिए। कार्यालयले कुल १४ जनाको खकार परिक्षण गर्दा पाँच जनामा क्षरोगको संक्रमण भेटिएको छ। जसमा फोक्सोको क्षयरोग भएका तीन जना र फोक्सो भन्दा बारिहको क्षयरोग भएका दुई जना रहेको घिमिरेले जानकारी दिए। संक्रमित पाँच जना नै पुरुष कैदीबन्दी रहेका छन् । 

कारागारमा क्षयरोगको संक्रमण थप फैलिन नदिनका लागि स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी अस्पताल र बागलुङ नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार स्वास्थ्य शिक्षाका कार्यक्रम संचालन गरेको छ। संक्रमण पाँच जनाले क्षयरोगको औषधी खान सुरु गरेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले बताए । संक्रमितको औषधी उपचार सुरु गरेपनि उनीहरुको सम्पर्कमा रहेका बाँकी कैदीबन्दीका क्रमशः खकार परिक्षण गरिने आचार्यले बताए। ‘कारागारभित्र संक्रमणको दर बढ्न नदिनका लागि स्वास्थ्य कार्यालयले सजगता अपनाउन आग्रह गरेको छ। 

कैदीबन्दीका लागि स्वास्थ्य शिक्षा पनि प्रदान गरेका छौं आचार्यले भने,‘नियमित माक्सको प्रयोग गर्न लगाएका छौं, संक्रमितलाई छुट्टै बस्ने स्थानको व्यवस्था पनि गर्न लगाएका छौं। खोक्दा हाँछ्यु गर्दा हावाको माध्ययमबाट क्षयरोग संक्रमण हुने हुँदा सवै कैदीबन्दीलाई सजगता अपनाउन लगाएका छौं ।’ जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालय सँग समन्वय गरी बाँकी कैदीबन्दीको पनि खकार परिक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

कारागारमा हाल एक सय ५२ जना पुरुष, १७ जना महिला र दुई जना नाबालक गरी कुल एक सय ७१ जना रहेका छन् । संक्रमित क्षयरोगका बिरामीलाई छुट्टै बस्ने व्यवस्थापन मिलाइएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।

उनले सवै कैदीबन्दीको खकार परिक्षण गरी अन्यमा पनि संक्रमण भए नभएको पुष्टी गरिने बताए। कारागारका कैदीबन्दीका लागि सामान्य स्वास्थ्य परिक्षणका लागि एक जना स्वास्थ्यकर्मी नियमित खटिएका छन्। क्षयरोगका संक्रमित सवै कैदीबन्दीलाई स्वास्थ्यकर्मीकै निगरानीमा प्रत्यक्ष नियमित खुवाइने छ । नियमित औषधी सेवन गरेमा निको हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । 
 

सुझावित समाचार