सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नगर्न पीडितको निवेदन

‘त्रासरहित र शान्तिपूर्ण जीवन जिउन चाहन्छु’

शनिबार, १२ साउन, २०८१
डिजिटल संस्करण

उच्च अदालतबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन नगर्न पीडित (गौशाला २६)ले उच्च सरकारी वकिल कार्यालय, पाटनमा निवेदन दिएकी छिन् । सो मुद्दाका कारण आफूले अनेक दबाब झेल्नुपरेको र अब त्रारसहित र शान्तिपूर्ण जीवन जिउन चाहेको भन्दै उनले पुनरावलोकन नगर्न आग्रह गरेकी हुन् । 

उच्च सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार निवेदनमा उनले आफू उच्चको फैसलाका कारण र सामाजिक सञ्जालमा आएका टीका–टिप्पणीले मानसिक तनावमा रहेको उल्लेख गरेकी छिन् । कसैको दबाबमा आफूले जाहेरी नदिएको र अरूले आफूजस्तो नियति भोग्नु नपरोस् भन्ने मनसाय रहेको उनको भनाइ छ । सफाइ दिने उच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने उनले बताएकी छिन् । 

उनले निवेदन दिँदैमा सर्वाेच्चमा पुनरावेदन भने रोकिँदैन । फैसलाको अध्ययन गरेर पुनरावेदन गर्ने–नगर्ने सम्बन्धमा निर्णय गरिने उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुख शंकर खत्रीले बताए । 

गत २ जेठमा भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको थियो । जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरेकोमा उच्च अदालत पाटनले सफाइ दिएको थियो । आर्थिक सहयोग नगरेको रिसको आवेगमा गौशाला २६ ले क्रिकेटर लामिछानेविरुद्ध जाहेरी दिएको र सहमतिको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने भन्दै उच्च अदालतले उनलाई सफाइ दिने फैसला गरेको थियो । 

सुझावित समाचार