मानव बेचबिखन मुद्दामा उन्मुक्ति पाएका गाउँपालिका अध्यक्ष जुवाखालमा पक्राउ

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

मानव ओसारपसार तथा बेचबिखनमा पक्राउ परी सरकारी वकिल कार्यालयबाट उन्मुक्ति पाएका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले जुवाखालबाट समातिएका छन्। 

प्रहरी वृत्त बौद्धले उनलाई गत ५ साउनमा पक्राउ गरेकोमा शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

बौद्ध वृत्तका डिएसपी राजु पाण्डेका अनुसार अध्यक्ष घलेसहित १० जना ‘म्यारिज’ खेलिरहेको अवस्थामा एक लाख ३६ हजार पाँच सयसहित पक्राउ परेका हुन्। 

जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध शुक्रबार अदालतमा मुद्दा दायर गरेको छ। पक्राउ परेकाहरू पटके भएकाले अदालतमै मुद्दा दायर भएको हो। 

सामान्यतया जिल्ला प्रशासन कार्यालयमा जुवा मुद्दा दायर हुन्छ। बुढानीलकण्ठ ११ कपनबाट उनीहरू पक्राउ परेका हुन्। 

अध्यक्ष घलेसहित रमेश लामा, चीनकुमार गोले, दिनेश सुनार, प्रवीण लामा, विष्णुकुमार दोङ, सुमन गोले, शुक्र सुनार, रितिक राउत र राजु तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ। 

मानव बेचबिखनमा कसरी जोगिएका थिए घले ? 
आफ्नै गाउँकी एक महिलालाई कुवेत पठाउने भन्दै भारतबाट श्रीलंका लगेर बन्धक बनाएको आठ वर्षअघिको घटनामा घलेलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गत २७ चैतमा पक्राउ गरी अभियोजन प्रक्रिया अघि बढाएको थियो।

पछि पीडित उपस्थित भएर आफूखुसीले श्रीलंका गएको भनेर दिएको निवेदनकै आधारमा जिल्ला सरकारी वकिल, काठमाडौंले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो। जुन निर्णयलाई उच्च अदालतले अस्वीकार गरी थप अनुसन्धान गर्न निर्देशन दिएको छ। 

सो मुद्दामा अर्का प्रतिवादी सविन शाहलाई मात्र मुद्दा चलाई घलेलाई उन्मुक्ति दिने प्रयास भएको भन्दै सरकारी वकिलको निर्णय विवादमा परेको थियो। 

अनुसन्धान प्रतिवेदनमा अन्य प्रमाणहरू रहेकाले घले कसुरदार होइनन् भन्ने निष्कर्ष निकाल्न नमिल्ने भन्दै थप अनुसन्धान गर्न फाइल फिर्ता गरिएको उच्च सरकारी वकिल कार्यालयका अधिकारी बताउँछन्।  

घले पक्राउ परेपछि पीडित भनिएकी महिलाले हुलाकमार्फत सरकारी वकिल कार्यालयलाई आफू त्यसवेला मञ्जुरीले भारतबाट श्रीलंका गएको भन्दै मानव बेचबिखनमा उनको संलग्नता नभएको भनेर निवेदन दिएकी थिइन्। पछि आफैँ सरकारी वकिलमा उपस्थित भएर त्यसको सनाखत गरिन्। 

पीडितले नै अभियुक्तको संलग्नता छैन भनेर सनाखत गरेको आधारमा घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरे पनि प्रहरीले समेत असन्तुष्टि जनाएको थियो। किनकि, कसुर पुष्टि हुने अन्य धेरै आधार अनुसन्धान प्रतिवेदनमा थिए।

पीडितले आठ वर्षअघि दिएको जाहेरी र हाल निवेदनमा उल्लेख गरेका विषय एक–आपसमा बाझिएका थिए। त्यतिवेला पीडितले माइती नेपाल संस्थाको रोहवरमा जाहेरी दिएकी थिइन्। 

त्यसवेला माइती नेपालमा होस्टेल वार्डेनका रूपमा कार्यरत अरुषा सुवेदीको समेत अनुसन्धानको क्रममा प्रहरीले कागज गर्दा पीडितले भनेअनुसार नै घलेसहितको व्यक्तिले उनलाई श्रीलंका पुर्याएको र सोही आधारमा जाहेरी लेखिएको बताएकी छिन्।

त्यतिवेला ती पीडितसँगै श्रीलंका पुगेकी एक महिलाको पनि प्रहरीले कागज गरेको छ।  ती महिलाले पनि आफूले समेत माइती नेपालमा निवेदन दिएर त्यतिवेला उद्धार गर्न लगाएको बताइएकी छिन्। 

श्रीलकांका लगेर बन्धक बनाएर बिक्री गर्न लागेपछि आफूहरू प्रहरीमा जाने भनेर धम्क्याएर नेपालमा उजुरी गरेर उद्धार गर्न लगाएको बताएकी छिन्। जसले उनी मञ्जुरीमा श्रीलंकासम्म पुगेको भन्ने हालको निवेदनमा उल्लेख गरेको विषय आपसमा बाझिएका छन्। प्रहरीकै सहयोगमा त्यसवेला उनीहरूको उद्धार भएको थियो।

पीडितले दिएको जाहेरीमा श्रीलंकासम्म लैजाने मुख्य व्यक्ति नै घले थिए। दुवैको गाउँ एकै ठाउँ हो। आरोपी गाउँ गएको वेला भेट भएको उनले विदेशमा पठाउने प्रलोभन दिएका थिए। 

पीडित र अर्की महिलासँगै काठमाडौं आएकोमा घलेले नै पासपोर्ट बनाइदिएको र एक महिनासम्म उनकै कोठामा बसेकोसमेत जाहेरीमा उल्लेख छ। 

पासपोर्ट बनाएपछि पीडित गाउँ गएकोमा पछि ३१ असार ०७३ मा आरोपी घलले नै फोन गरेर  भिसा आइसकेको भन्दै काठमाडौं बोलाएका थिए। त्यसपछि फेरि एक महिना उनीहरू आरोपीकै कपनस्थित डेरामा बसेका थिए। 

पछि एक हजार रुपैयाँ बाटो खर्चसमेत उनलै दिएर दिल्ली पठाएका थिए। यी सम्पूर्ण विवरण त्यसवेला पीडितले जाहेरीमा लेखाएकी थिइन्। 

पीडित र पीडक एकै गाउँको भएको र पीडक प्रभावशाली व्यक्ति भएकाले अहिले उनलाई ‘होस्टाइल’ बनाएर घलेको पक्षमा निवेदन दिन लगाइएको हुन सक्ने आशंका अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीको छ। घले नेपाली कांग्रेसका नेता हुन्। 

सुझावित समाचार