ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा करिब २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ फिर्ता गर्न नसकेकामा प्रहरीमा भने एकजनाले मात्र जाहेरी दिएका छन् । थप जाहेरी नै नपरेपछि पक्राउ परेका चार सञ्चालकलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।
जिल्ला अदालत ललितपुरले बिहीबार सञ्चालकलाई धरौटीमा छाड्ने आदेश दिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदम जोशी प्रधानलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर, ललितपुरले उनीहरूविरुद्ध बुधबार सरकारी वकिलमार्फत मुद्दा दायर गरेको थियो ।
प्रमुख कार्यकारी अधिकृत रहेका भण्डारीसँग २५ लाख, अध्यक्ष श्रेष्ठसँग २० लाख तथा कोषाध्यक्ष अर्याल र सञ्चालक सदस्य प्रधानसँग १०÷१० लाख रुपैयाँ धरौटी माग गरेको ललितपुर परिसरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । प्रहरीले उनीहरूविरुद्ध दुई करोड १४ लाख २४ हजार चार सय ५१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । सहकारीका सञ्चालकविरुद्ध एकजनाको मात्र जाहेरी परेको र सोही आधारमा बिगो कायम गरी मुद्दा दायर गरिएको एसपी सुवेदीले बताए ।
‘सञ्चालकहरू पक्राउ परेपछि जाहेरीका लागि हामीले सदस्यहरूलाई आह्वान गरेका थियौँ,’ उनले भने, ‘तर, थप जाहेरी नपरेपछि एकजनाको बचतबराबरको रकम बिगो कायम गरी मुद्दा दायर गरेका हौँ ।’
पुल्चोकका महेश थापाले मात्र जाहेरी दिएका थिए । धेरै बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा उजुरी दिइसकेको भन्दै प्रहरीमा दिएका छैनन् । थापाको जाहेरी गत चैतमै दर्ता गरे पनि प्रहरीले पक्राउमा भने चासो दिएको थिएन । पछि, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी ललितपुरमा बुझाएको थियो ।
प्रहरीले पक्राउ परेका चारसहित अन्य पाँच सञ्चालकलाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । उपाध्यक्ष हजुरी विष्ट, सञ्चालक भोलाकुमार श्रेष्ठ, लेखा समिति संयोजक पुण्यप्रसाद पोखरेल, लेखा समिति सदस्य विद्यादेवी पाण्डे र तिमिला रञ्जितलई फरार प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
सिइओ भण्डारीले बयानको क्रममा बचतकर्ता थापाको पैसा फिर्ता गर्न नसकेको स्वीकार गरेका छन् । कोरोना महामारीसँगै जग्गाको कारोबारमा आएको मन्दी तथा कर्जा असुल नहुँदा बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकिएको उनले स्वीकार गरेका छन् । सो कम्पनीले नियमविपरीत विभिन्न कम्पनीमा लगानी गरेको छ । ललितपुरको गोदावरीमा दुग्ध प्रशोधन केन्द्र, सिन्धुपाल्चोकमा भैरवकुण्ड हाइड्रोपावर, ललितपुरको ताल्सिखेलमा लालीगुराँस अस्पतालजस्ता निजी कम्पनीमा नियमविपरीत करोडौँ लगानी गरेको छानबिनमा खुलेको छ । तर, क–कसको नाममा नियमविपरीत कर्जा प्रवाह भयो भन्नेतर्फ अनुसन्धान भएको छैन । बयानका क्रममा सिइओ भण्डारी स्वयंले २२ हजार सदस्यको करिब ६ अर्ब ३० करोड दायित्व रहेको बताएका छन् । स्रोतका अनुसार संस्थाको लगानी रहेका कम्पनीको सम्पत्ति बेचेर बचत फिर्ता गर्ने आश्वासन दिई अन्य बचतकर्तालाई जाहेरी दिनबाट रोकिएको थियो । केही पहुँचवाला बचतकर्ताको भने पहिले नै रकम फिर्ता गरिएको थियो ।
अदालतले धरौटीमा छाड्न आदेश दिएकामा सिइओ भण्डारीबाहेक अन्य तीनजनाले बिहीबार नै धरौटी बुझाएर छुटेका छन् । भण्डारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि ठगीको अर्काे मुद्दा छ । चुच्चेपाटी शाखाकी एक बचतकर्ताको रकम हिनामिना गरेको भन्दै दुई महिनाअघि अर्काे ठगी मुद्दा दायर भएकामा उनलाई समेत फरार प्रतिवादी बनाइएको थियो । साथै, अभियोगपत्रमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि छुट्टै अनुसन्धान गर्ने उल्लेख छ । तर, सञ्चालकहरूको सम्पत्ति विवरण प्राप्त भइनसकेको भन्दै हाल पक्राउ परेकालाई सो मुद्दामा थुनामा नराख्ने निर्णय भएको छ । सो सहकारीलाई २९ फागुन ०८० मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरेकामा चैत महिनामा संस्थाको कार्यालय सिल गरिएको थियो । सञ्चालकहरूको सम्पत्तिसमेत रोक्का भइसकेको छ ।