बालविवाहविरुद्ध जागृत हुँदै किशोरी

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

आशाकुमारी राम १७ वर्षकी भइन् । जलेश्वर नगरपालिका– १२ थरुवाहीस्थित श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा १२ मा शिक्षा विषय लिई अध्ययनरत आशा बालविवाहविरुद्ध खुलेर बोल्न थालेकी छिन्। आफ्नै तीनजना दिदीको बालविवाह हुँदा उनीहरूले भोगेको शारीरिक र मानसिक दुःख आशाले नजिकबाट देखेकी छिन्।  विद्यालय शिक्षा हासिल गर्दै गर्दा विद्यालयमा समेत बालविवाहले हुने हानिबारे उनले बुझ्न अवसर पाइन्। 

विद्यालय र समुदायमा बालविवाहविरुद्ध निबन्ध प्रतियोगिता, सडकनाटक र अन्तर्क्रिया कार्यक्रम हुँदा उनी झनै बालविवाहवारे जानकार भइन्। सामाजिक परिवेशअनुसार उनको बिहे गर्ने उमेर भइसकेकोमा उनी भने आफू बालविवाह नगर्नेमा ढुक्क छिन्। आमबुबाको समेत विवाहसम्बन्धी मानसिकता फेर्नमा सफल भएकी आशा अझै शिक्षालाई निरन्तरता दिएर आफ्नै खुट्टामा उभिने बताउँछिन्। 

आशाजस्तै बालविवाहविरुद्ध महोत्तरीमा बालबालिका तथा किशोरकिशोरीहरू जागृत हुन थालेका छन् । बालविवाहकै कारण शारीरिक र मानसिक विभिन्न पाटोमा नकारात्मक प्रभाव पर्ने बुझेपछि आफूहरू बालविवाह नगर्ने र गर्न नदिने प्रतिबद्धता बालबालिका तथा किशोरकिशोरीले व्यक्त गर्ने गरेका छन् । जलेश्वर नगरपालिकाको वडा नं. ३, ९, ११ र १२ मा सञ्चालन गरिएको बालविवाहविरुद्धको विभिन्न कार्यक्रमपश्चात् बालविवाहबाट हुने हानिबारे बुझ्दै उनीहरूले सो प्रतिबद्धता जनाएका हुन् ।

संयुक्त अधिराज्य, राज्य विभाग (युएस डिपार्टमेन्ट अफ स्टेट)को आर्थिक सहयोगमा सेभ द चिल्ड्रेनमार्फत रतौली युवा क्लबसँगको साझेदारी तथा समाज उत्थान कल्याण संघको सहकार्यमा बालविवाह कम उमेरमा हुने र जबर्जस्ती गरिने विवाह (चाइल्ड, अर्ली एन्ड फोर्स म्यारेज–सिइएफएम) विरुद्धको परियोजनाअन्तर्गत जलेश्वर नगरपालिकाको वडा नं. ३, ९, ११ र १२ मा अन्तर्क्रिया कार्यक्रम, सडकनाटक, निबन्ध प्रतियोगितालाई निरन्तरता दिइएपछि उक्त कार्यक्रमको सकारात्मक प्रभाव देखिएको हो । 

विद्यालय, समुदाय, अभिभावक र बालविवाहमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न पात्रहरूसँग उक्त कार्यक्रमअन्तर्गत जनचेतना जगाएपछि बालविवाहबारे सोचमा परिवर्तन भएको समाज उत्थान कल्याण संघका अध्यक्ष रूपेश पासवानले बताए ।  बालविवाह निर्मूल गर्न संघसंस्था मात्र नभई प्रहरीसमेत सक्रिय देखिएका छन्।

जिल्ला प्रहरी कार्यालयले आफ्नो विभिन्न युनिटहरूमार्फत गत आर्थिक वर्षमा समुदाय र विद्यालयहरूमा ९६ वटा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मुलुकी अपराध संहिता २०७४ मा १८ वर्षमुनिका नाबालक र बिहेवारीको उमेर २० वर्ष मानेको छ । १८ वर्षपछिको दुई वर्ष पनि बिहे गर्न नपाउने र सो समय बालबालिकाको क्षमता विकास तथा उनीहरू आत्मनिर्भर बन्ने समय छ ।

जिल्ला प्रहरी कार्यालय बालविवाह रोकथाम गर्न प्रतिबद्ध रहेकोमा प्रहरीबाट समुदाय र विद्यालयमा बालविवाहविरुद्धको जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले बताए । 
 

सुझावित समाचार