भर्खर रोपेको धानको फेद कुहिने समस्या देखिन थालेपछि किसान चिन्तित

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

भर्खरै रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि बागलुङका किसान चिन्तित बनेका छन् । जिल्लाको बागलुङ नगरपालिकको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालीमाटी क्षेत्रका किसानले खेतमा रोपेको धान दुई साता नपुग्दै मर्न थालेको छ । धानको फेद र डाँठ कुहिएर पहेँलो हुँदै मर्न थालेपछि यस क्षेत्रका किसान चिन्तित भएका हुन् । 

धान रोपेर झार गोड्ने समय हुनै लाग्दा ढुसीजन्य रोग फैलिएका कारण धानको फेद कुहिने र पात मर्नेलगायतका समस्या देखिन थालेपछि किसानलाई अहिले चिन्ताले सताएको छ । हिउँदभरि खान पुग्ने अन्न उब्जाउनका लागि दुःख गरेर रोपेका धानका गावा खाली हुँदै गएका छन् । अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए । उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एकाएक रोगको प्रकोप देखिन थालेपछि अहिले निराश बनेका छन् ।

‘यस वर्ष समयमै वर्षात् भएका कारण रोपाइँ गरेर उम्किएका थियौँ,’ बागलुङ नगरपालिका– १३ पैयुँपाटाका किसान मुक्तिराम शर्माले भने, ‘यस वर्ष त धान उत्पादन पनि बढ्ने भो भनेर निकै आशावादी बनेका थियौँ । रोपेको दुई साता नपुग्दै फेद कुहिने समस्याले सबै धान मर्न थाल्यो । यस वर्ष सोचेजस्तो धान उत्पादन हुने भएन, यो रोग नियन्त्रणको उपाय त खोजेका छौँ, तर सहजै सम्भव हुने रैनछ ।’ उनले अधिकांशको पानीमा राखिएको बिउमा यो समस्या देखिएको बताए । शर्माले आफ्नो मात्र झन्डै पाँच रोपनी खेतमा यो समस्या देखिएको बताए । 

किसानको खेतमा लगाएको धानमा यो समस्या देखिएपछि बागलुङ नगरपालिकाले कृषि प्राविधिकसहितको टोली अनुसन्धानका लागि पठाएको छ । नगरपालिकाले तत्काल ढुसीजन्य रोग नियन्त्रणका लागि केही विषादी किसानलाई उपलब्ध गराएको बागलुङ नगरपालिकाका– १३ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार नगरपालिकाको कृषि शाखाका प्राविधिक र कृषि ज्ञान केन्द्रका प्राविधिकहरूको स्थलगत अनुगमनपश्चात् यो रोग नियन्त्रणका लागि  गर्न सकिने प्रयासको थालनी गरिएको छ ।  

नगरपालिकाभित्र झन्डै दुई सय रोपनी क्षेत्रफलको खेतमा यो समस्या देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटा बताउँछन् । उनले यसको रोकथामका लागि किसानलाई बेबिस्टिन नामक विषादी उपलब्ध गराइएको र खेतमा उक्त विषादी राख्ने काम भएको बताए । उनले यो रोग नियन्त्रणका लागि किसानलाई खेतमा पानी सुकाएर औषधि प्रयोग गर्ने र एक सातामा एक दिन मात्र पानी लगाई अन्य दिन सुक्खा राखेमा यसको समस्याको समाधान हुने जानकारी गराइएको बताए । 

 समयमा रोकथाम हुन नसकेमा प्रकोपग्रस्त क्षेत्रको धान उत्पादनमा झन्डै ५० प्रतिशतको बीचमा गिरावट आउन सक्ने उनको भनाइ छ । ‘समयमै रोगको पहिचान भएको छ, जसकारण रोग नियन्त्रणमा लिन निकै सजिलो छ,’ सापकोटाले भने, ‘रोगको प्रकोप समयमै नियन्त्रणमा लिन सके उत्पादनमा त्यति ठूलो गिरावट नआउला, नत्र उत्पादनमा गिरावट आउँछ ।’ उक्त रोगको प्रकोप पानीको माध्यमबाट सर्ने गर्दछ ।

विगत वर्षदेखि नै बागलुङका विभिन्न क्षेत्रमा यस प्रकारका समस्या देखा परिरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । खेतमा फेद कुहिएको देख्नेबित्तिकै त्यसलाई उखेलेर नष्ट गर्ने गरेमा यो रोग अन्य बिरुवामा नसर्ने प्राविधिकहरू बताउँछन् । 
 

See More On

सुझावित समाचार