ओटिसीमा पाँच अर्बको सेयर कारोबार

सूचीकृत नभएका सार्वजनिक कम्पनीको सेयर कारोबार आव ०८०/८१ मा सात वर्षयताकै उच्च

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभएका सार्वजनिक कम्पनीहरूको सेयर कारोबार सात वर्षयताकै उच्च भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आर्थिक वर्ष ०८०/८१ मा यस्ता ६३ कम्पनीहरूको पाँच अर्ब ११ करोड १२ लाखबराबरको सेयर बाह्य बजारमार्फत (ओटिसी मार्केट) किनबेच भएको छ । 

नेप्सेले सूचीकरण खारेज भएका, हुन नसकेका र प्रक्रियामै नआएका कम्पनीहरूलाई सेयर किनबेच गर्न ओटिसी बजारको व्यवस्था गरेको छ । सोही बजारमा गत आर्थिक वर्षमा ६३ कम्पनीका तीन करोड ६५ लाख ६५ हजार दुई सय ३५ कित्ता सेयर किनबेच भएको हो ।  

आर्थिक वर्ष ०७९/८० मा ४३ कम्पनीहरूले ओटिसीमार्फत दुई अर्ब ८५ करोड ८४ लाख रुपैयाँबराबर सेयर कारोबार गरेका थिए । ओटिसी बजारमा पछिल्लो सात वर्षमा औसत दुई अर्ब २७ करोडका दरले किनबेच हुँदै आएको छ । ०७३ यता ओटिसी बजारमार्फत कुल १८ अर्ब २२ करोडको सेयर किनबेच भएको छ ।

ओटिसी बजारमा औपचारिक बजारमा जस्तो नियमित कारोबार नहुने भएकाले यसलाई नेप्से जसरी विश्लेषण गर्न नमिल्ने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बताए । उनले भने, ‘यसमा नियमित कारोबार भइरहेको हुँदैन । कुनै कम्पनीलाई आवश्यक पर्दा मात्रै कारोबार हुन्छ । त्यसैले यसमा औपचारिक बजारजस्तो कारोबार देखिँदैन ।’ 

धितोपत्र बोर्डले ०७३ भदौदेखि यसको कारोबार शुल्कमा ९० प्रतिशतसम्म कटौती गरेपछि किनबेचसमेत बढ्दै गइरहेको देखिन्छ । नेप्सेलाई १४ जेठ ०६५ देखि ओभर द काउन्टर (ओटिसी) बजार सञ्चालनका लागि धितोपत्र बोर्डले अनुमति दिएको थियो । यद्यपि, नेपाल बैंकबाहेक अन्य कम्पनीहरूको कारोबार हुन सकेको थिएन । त्यसपछि बोर्डले कम्पनी रजिस्ट्रारको कार्यालयलाई औपचारिक रूपमा पत्राचार गरेर नेप्सेलाई पनि कारोबार सञ्चालन गर्न निर्देशन दिएपछि १८ माघ ०७२ बाट यसको विधिवत् कारोबार सुरुवात गराएको थियो ।

यो अनौपचारिक किसिमको बजार हो । ओटिसी बजारमा नेप्सेले आफ्नो स्वचालित कारोबारबाहेक छट्टै काउन्टर खोली खरिदकर्ता र बिक्रीकर्ताको आपसी मोलतोलमा सेयरको खरिद बिक्री गराउँदै आइरहेको छ । शुक्रबार र सार्वजनिक बिदाका दिनहरूबाहेक साताभर बिहान ११ बजेदेखि अपराह्न एक बजेसम्म स्टक एक्सचेन्जको ओटिसी बजारमा दलालविना खरिदकर्ता र बिक्रीकर्ताबीच सीधै कारोबार हुन्छ । नेप्सेका अनुसार हालसम्म दुई सय ४४ कम्पनीहरू यस्तो बजारमा दर्ता भई कारोबार गरिरहेका छन् । 

ओटिसीमा सबैभन्दा बढी कारोबार लर्ड बुद्ध एकेडेमीको 
०८०/८१ मा ओटिसी बजारमा सबैभन्दा बढी लर्ड बुद्ध एजुकेसन एकेडेमीको ६५ करोड चार लाखबराबरको किनबेच भएको छ । दोस्रोमा अन्नपूर्ण  केबुलकारको ४३ करोड २१ लाखको सेयर किनबेच भएको छ । आइएमई डिजिटल सोलुसनले ४० करोडको कारोबार गरेको छ । नेप्सेका अनुसार इलेक्ट्रो पावर कम्पनीले ३० करोड ५६ लाख, लिटमस इन्डस्ट्रिजले २९ करोड, नेपाल हस्पिटालिटी एन्ड होटेलले २५ करोड ४४ लाख र काठमाडौं मेडिकल कलेजले २५ करोड २१ लाखको सेयर कारोबार ओटिसी बजारमार्फत गरेको छ । साथै, एभरेष्ट हस्पिटालिटी हस्पिटलले २० करोड ४५ लाख, होटेल फरेस्ट इनले १९ करोड ४० लाख, बिजनेस ग्रुप अफ इन्डस्ट्रिजले १९ करोड २९ लाखको सेयर कारोबार ओटिसीमार्फत गरेका छन् । आव ०८०/८१ मा ओटिसी बजारमा सेयर किनबेच गर्ने ६३ कम्पनी छन् । सात वर्षयताकै सबैभन्दा बढी कम्पनी ओटिसीमा सहभागी भएका हुन् । यसअघि ०७५/७६ मा ६१ कम्पनी सहभागी थिए ।

See More On

सुझावित समाचार