प्राइभेट इक्विटी फर्म एनआइबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजसँग नौ करोड ५० लाख रुपैयाँ लगानी गर्न सम्झौता गरेको छ । एनआइबिएल इक्विटी पार्टनर्स एनआइएमबि एस क्यापिटल लिमिटेडको एकाइ हो । यस सम्झौताले दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्न चाहने डेलिज डेरिजको लक्ष्यलाई थप ऊर्जा प्रदान गरेको डेलिज डेरीले जनाएको छ ।
लगानी सम्झौताले डेलिज डेरिजको उत्पादन क्षमता वृद्धि, प्रोडक्ट इनोभेसन, बजारको पहुँच विस्तार तथा आइपिओ निष्कासनजस्ता प्रक्रियामा सहयोग पुग्नेछ । एनआइएमबि एस क्यापिटलका सिइओ सिवान्तबहादुर पाँडेले भने, ‘एनआइबिएल इक्विटी पार्टनर्स डेलिज डेरिजसँग साझेदारी गर्न पाउँदा निकै हर्षित छ ।
डेलिज डेरिजको क्वालिटी, इनोभेसन र स्थानीय समुदायलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता हाम्रो मिसनसँग पूर्ण रूपमा मेल खान्छ । यस लगानीले नेपाली उपभोक्तालाई फाइदा पु¥याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्नेमा हामी ढुक्क छौँ ।’
डेलिज डेरिजका सहसंस्थापक र सिइओ सन्दीप पौडेलले एनआइबिएल इक्विटी पार्टनरको विशेषज्ञता र पुँजी निष्कासनले अग्रणी दुग्ध उत्पादकका रूपमा रहेको कम्पनीको स्थानलाई थप बलियो बनाउने बताए ।