प्रेरक प्रसंग : अमूल्य भिक्षा

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

स्वामी रामतीर्थ स्नान र पूजापाठपछि हरेक दिन भिक्षाटनका लागि पाँच घरमा मात्र जाने गर्थे । तिनै पाँच घरबाट उनी केही न केही लिएरै फर्किन्थे । उनको दैनिक नियम यही थियो । 

एकपटक उनी भिक्षाटनका लागि निस्किए । एउटा घरमा पुगेर उनले ‘भिक्षाम् देही’ भन्दै भिक्षा मागे । घरकी महिलालाई उनीदेखि खुब रिस उठ्यो । उनले रिसाउँदै भनिन्– भिक्षा माग्नुबाहेक तिमीहरूको केही काम छैन कि के हो ? खुरुक्क यहाँबाट फर्किहाल त ! महिलाको रिस देखे पनि रामतीर्थ विचलित भएनन् । उनले संयमपूर्वक भने– माता, मैले खाली हात कुनै पनि ढोकाबाट फर्किने गरेको छैन । त्यसैले, भिक्षाविना फर्किन म असमर्थ छु । केही न केही नलिई त म यहाँबाट फर्किन्नँ । 

रामतीर्थको अठोट सुनेर ती महिला झनै रिसाइन् । उनी त्यतिखेर दैलो पोत्दै थिइन् । हातमा लिएको पोतो दिँदै उनले भनिन्– ल, यही टालो लग र आफ्नो मुख पोत । रामतीर्थले खुसी हुँदै त्यो टालो लिए र नदीमा पुगेर त्यसलाई सफा गरे । अनि त्यसलाई च्यातेर धेरै सलेदो बनाएर साँझमा मन्दिरमा बत्ती बाले । उता ती महिलालाई आफूले साधुको अपमान गरेकोमा पश्चात्ताप भयो । उनी देवालय पुगिन् र रामतीर्थसित माफी मागिन् । 

स्वामी रामतीर्थले मुस्कुराउँदै भने– माता, तपाईंले निकै अमूल्य भिक्षा दिनुभयो । भोजन दिनुभएको भए त्यो उहिल्यै समाप्त भइसकेको हुने थियो । तर, तपाईंले दिएको अमूल्य भिक्षाकै  कारण अहिले यो देवालय प्रज्ज्वलित भइरहेको छ, हेर्नुहोस् त !
 

सुझावित समाचार