त्रिशूली नदीको बहाव र वेग (करेन्ट) दुवै बढ्दा त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न समस्या भएको छ । बस र यात्रुको शव खोजीमा कुनै उपलब्धि हासिल भएको छैन । उद्धार र खोजीका लागि आएको भारतीयसहितको नेपालका सुरक्षाकर्मीले संयुक्त रूपमा आइतबार घटनास्थल सिमलतालदेखि घुमाउनेसम्म करिब साढे तीन किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर खोजी गरे पनि बस र यात्रु केही भेटेनन् । सोमबार पुनः घुमाउनेदेखि देवघाटसम्म खोजीकार्य हुने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
भारतीयले लिएर आएको तीनवटा सोनार क्यामेरा पूर्ण रूपमा प्रयोग हुन पाएको छैन । लगातार पानी पर्दा पानीको बहाव प्रविधिमैत्री नहुँदा समस्या आएको खोजीकार्यमा रहेकाले बताएका छन् । भारतीय उद्धारकर्ताले ल्याएको क्यामरा नेपालमा सशस्त्र प्रहरी बलले प्रयोग गरेको सोनार क्यामेराभन्दा एड्भान्स छ । क्यामरालाई स्थिर पानी चाहिने र गोताखोर पानीभित्र क्यामेरासहित जानुपर्ने हँुदा खोजी गर्न बोटको क्षमता, पानीको बहाव/वेग र प्रविधिको मिश्रण मिल्नुपर्छ । उनीहरूको क्यामेरा ३० फिट गहिरोसम्मको दृश्य स्क्रिनमा हेर्न मिल्छ ।
दुर्घटनामा परेको बस र मानिसको खोजीका लागि भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ)का १२ जना प्राविधिक टोली प्रविधिसहित शनिबार चितवन आएको थियो । टोलीमा चारजना गोताखोर छन् । त्रिशूली नदीमा खसेर बेपत्ता बसका यात्रुको शव भारतीय सीमाछेउछाउमा पनि फेला पर्न थालेपछि चितवन प्रशासनले भारतको चम्पारण जिल्लाका डिएमसँग खोज तथा उद्धार कार्यमा समन्वय गरेको थियो । चितवन प्रशासनले धेरै दिन भएकाले शव भेट्न मुस्किल भएको र भेटिए पनि सनाखत गर्न कठिन भएको बताउँदै आएको छ ।
काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस गत २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए । अहिलेसम्म २५ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । ३७ जनाको अवस्था अझै अज्ञात छ । भेटिएको २५ शवमध्ये १८ जनाको मात्र सनाखत भएको छ । पाँचजना पुरुष र दुईजना महिलाको शव सनाखत हुन बाँकी छ । आइतबार कुनै पनि शव भेटिएनन् ।
सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका लागि सुरुदेखि नै सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्याफ्टिङ बोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एंकर)को प्रयोग गरिएको छ । किनारको वारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ ।
जगबुढाको पानी गाउँ पसेपछि स्थानीय त्रसित
जगबुढा नदी गाउँ पसेपछि दोधाराचाँदनी नगरवासी त्रसित भएका छन् । गत असार अन्तिम साता जगबुढा नदीमा आएको बाढीले विस्थापित पीडित घर फर्किन नपाउँदै पुनः आएको बाढीले दोधाराचाँदनी नगरवासी त्रसित भएका हुन् । दोधाराचाँदी नगरपालिका–३ पटराखल्लामा रनुजराम लुहारले बाढीबाट विस्थापित भएर घर फर्किन नपाउँदै जगबुढाको बाढी गाउँ पसेपछि चिन्ता थपिएको बताए । ‘हामी पहिल्यैको बाढीबाट घर फर्किन पाएका छैनौँ,’ उनले भने, ‘फेरि जगबुढा नदी गाउँ पस्यो, अब त घरमा फर्किने कहिले हो थाहै भएन ।’
जगबुढा नदीले दोधाराचाँदनी नगरपालिका– ८ सुन्दरनगर, कुतियाकबर, १८ नम्बर सीमाबस्तीतिर पनि कटानी सुरु गरेपछि त्यहाँका स्थानीयसमेत त्रसित भएका छन् । दोधाराचाँदनी नगरपालिका– १० कुतियाकबरका टेकबहादुर सुनारले वर्षाभरि बाढीको चपेटामा पर्नुपरेको बताए । दोधाराचाँदनी नगरका मेयर किशोरकुमार लिम्बूले पटराखल्लाका स्थानीय अघिल्लो बाढीबाट विस्थापित भएर घर फर्किन नपाउँदै डुबानमा परेको बताए ।
‘पटराखल्लाका २५–३० परिवार अझै पनि नजिकैको विद्यालयमा आश्रय लिएर बसेका छन्,’ उनले भने, ‘फेरि गाउँमा बाढी गयो, अब उनीहरूलाई छिट्टै फर्किन समस्या होला जस्तो छ ।’ शनिबारदेखि पहाडमा भीषण वर्षा भएपछि जगबुढा नदीसहितका चुरे भएर बग्ने खोला नदीको सतह वृद्धि भएर तटीय क्षेत्र कटानका साथै डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले खहरे खोलाले ब्रह्मदेवमा डुबान र जगबुढा नदीले सुन्दरनगरमा कटान गरिरहेको बताए ।