केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेपछि माओवादीले प्रदेश सरकारको नेतृत्व गुमाउन थालेको छ । यसअघि मधेश सरकारबाट बाहिरिएको माओवादीले आइतबार एकसाथ बागमती र लुम्बिनीको नेतृत्वसहित सरकार गुमाएको छ । कांग्रेस–एमालेको प्रस्ट बहुमत रहेकाले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । २३ चैत ०८० मा मुख्यमन्त्री बनेका महराले १०७ दिन सरकार चलाए ।
दुवै प्रदेशमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो । राजीनामा घोषणा गर्दै जम्कट्टेलले दुई ठूला दल कांग्रेस र एमालेको सत्तागठबन्धनबाट संघीयता र संविधानमाथि नै खतरा रहेको दाबी गरे । ‘संविधान संशोधन र स्थिरताको नाममा दुई ठूला दल मिल्नुले अहिले संशय पैदा भइरहेको छ । यी दुवै काम यसअघिकै सरकारहरूको नेतृत्वबाट पनि सम्भव थियो, तर कांग्रेस र एमालेलाई कसले र किन मिलायो यसमा शंका गर्ने ठाउँ छ,’ उनले भने ।
प्रदेश संरचना कार्यान्वयनमा आएको साढे सात वर्षमा बागमतीमा पहिलोपटक कांग्रेस नेतृत्वको सरकार बन्ने भएको छ । यो अवधिमा तीन वर्ष सत्तामा रहेको कांग्रेसले अब बहादुरसिंह लामालाई मुख्यमन्त्रीमा अघि सारेको हो । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले नेता लामाको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने निर्णय गरेको हो । उनी नुवाकोट २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अन्य पार्टीसँगसमेत सहमति र सहकार्य गरेर जानुपर्ने अवस्थामा पार्टीभित्र पूर्ण एकताको सन्देश दिन दलका नेता लामाकै नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय भएको बताए ।
मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले राजीनामा स्वीकृत गरे । र, संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकारका लागि ८ साउन साँझ ५ बजेसम्मको समयसीमा तोकेर दाबी पेस गर्न आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि कांग्रेसले एमालेको समर्थनमा सोमबार दाबी गर्नेछ । ११० सदस्यीय प्रदेश सभामा सरकार निर्माण गर्न ५६ मत आवश्यक पर्नेमा कांगे्रस र एमालेसँग ६४ सांसद छन् ।
लुम्बिनीमा पनि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिसकेका छन् । उनले सोमबार साँझ साढे ६ बजेसम्मको समयसीमा दिएर संविधानको धारा १६८ (२) बमोजिम आह्वान गरेका हुन् । नयाँ सरकार गठनका लागि आह्वान भएपछि कांग्रेस–एमाले गठबन्धनले एमालेका लीला गिरीलाई अघि सार्ने भएका छन्
एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीका अनुसार सोमबार दिउँसो १ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी छ ।
कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सोमबार दाबी प्रस्तुत गरेपछि बुधबारसम्ममा मन्त्रिमण्डल बनाउने गरी सहमति गरिने बताए । कांग्रेस र एमालेले बराबर अवधि मुख्यमन्त्रीमा आलोपालो गर्ने र मन्त्रालय पनि बराबर बाँड्ने गरी सहमति गरिने बताए । गिरी प्रदेश सभाको बहाल कार्यकालमा दोस्रोपटक मुख्यमन्त्री बन्दै छन् । उनले यसअघि एमाले–माओवादी गठबन्धनबाट १७ पुस ०७९ देखि १४ वैशाख ०८० (साढे तीन महिना) सरकारको नेतृत्व गरेका थिए । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । जहाँ एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन दबाब
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई राजीनामा दिन कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले दबाब दिँदै आएका छन् । तर, अल्पमतमा रहेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भन्दै सत्ता लम्ब्याउँदै आएका छन् ।
केन्द्रमा नयाँ समीकरण बन्दा एमाले सरकारबाट बाहिरिएपछि सुदूरपश्चिममा बजेटसमेत पास हुन सकेन । यहाँ बजेट होलिडे रहेको छ ।
एकीकृत समाजवादीका नेतासमेत रहेका मुख्यमन्त्री सोडारीले अध्यादेश ल्याउन अधिवेशन अन्त्य गरेका थिए । तर, एकचौथाइ सांसदले लिखित माग गरेपछि ८ साउनका लागि विशेष अधिवेशन बोलाइएको छ । मुख्यमन्त्री सोडारीले २० साउनसम्म अल्पमतको सरकार चलाउन पाउने भए पनि बजेट होलिडे रहेकाले कुर्सी छाड्नुपर्ने दबाब छ ।