प्रेरक प्रसंग : सहयोगीको छनोट

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

कुनै समय आयुर्वेदाचार्य नागार्जुनलाई आफ्नो प्रयोगशालामा काम गर्न एकजना सहायकको खाँचो पर्यो । उनले सहायक खाँचो परेकोबारे सूचना जारी गराए । उनको प्रयोगशालामा काम गर्न इच्छुक धेरैले आवेदन दिए । लिखित परीक्षापछि उनले दुईजना उपयुक्त उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरे । 

लिखित परीक्षाका आधारमा हेर्दा दुवै उम्मेदवार नागार्जुनको सहायकका लागि उपयुक्त पात्र देखिन्थे । तर, उनलाई एकजना मात्र आवश्यक परेको थियो । अब छनोट गर्ने कसरी र कसलाई ? उनी असमञ्जसमा परे । धेरै सोचविचार गरिसकेपछि उनले दुवैलाई तीन दिनमा एउटा रसायन तयार गरेर ल्याउन अनुरोध गरे । 

तीन दिनपछि दुवै उम्मेदवार आचार्य नागार्जुनसामु उपस्थित भए । आचार्यले उनीहरूलाई रसायन देखाउन अनुरोध गरे । उनको अनुरोध सुन्नासाथ पहिलो उम्मेदवारले फुर्तीसाथ भने– हजुरले भनेजस्तो रसायन तयार गर्न मेरासामु निकै चुनौती थिए । आमा ज्वरोले सिकिस्त हुनुहुन्थ्यो । बाबालाई बाथले गालेको थियो । भाइको खुट्टा भाँचिएको थियो । उहाँहरू सबैको सेवा, सुश्रुषा गर्दै मैले हजुरले दिएको रसायन तयार गर्ने कार्यमा सफलता पाइछाडेँ । उनले रसायन आचार्यलाई बुझाए ।

पहिलो उम्मेदवारको जवाफ सुनिसकेपछि आचार्य नागार्जुनले दोस्रो उम्मेदवारलाई उनले तयार गरेको रसायनबारे प्रश्न गरे । उनले विनम्रतापूर्वक जवाफ दिए– आचार्य, मैले हजुरले दिएको काम सुरुसमेत गर्न सकिनँ । मेरो छिमेकमा बस्ने एक वृद्धा निकै बिरामी हुनुहुन्थ्यो । उहाँको हेरचाह गर्ने कोही पनि थिएन । त्यसैले, उहाँको सेवामा लगातार खटिनुपर्यो । बल्ल आज उहाँ केही उठ्नुभयो र मात्र म अहिले यहाँ आउन सफल भएँ । 

दोस्रा उम्मेदवारको जवाफ सुनेपछि आचार्यको अनुहारमा चमक आयो । उनले भने– मेरो सहायकका रूपमा काम गर्न तिमी नै बढी योग्य छौ । रसायन जीवन रक्षार्थ उपयोग हुन्छ । जसले अरूको दुःख–पीडा बुझ्न सक्छ, उसैले मात्र रसायनको महत्व बुझ्छ र त्यसलाई तयार गर्न पनि सक्छ । त्यसैले, तिमी आफूलाई अनुकूल हुने दिनदेखि यहाँ काम सुरु गर्न सक्छौ ।

सुझावित समाचार