मन्त्रालय र राखेप एक टिम भएर काम गर्नुपर्छ : मन्त्री चौधरी

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्षसमेत रहेका खेलकुदमन्त्री चौधरीले राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा खेलकुदसँग सम्बन्धित सबै पक्षसँग मिलेर सहकार्य गर्न तयार भएको जनाएका हुन् । ‘मन्त्री भएको केही दिन मात्र भएको छ । छोटो अवधिमा खेलकुदलाई कसरी विकास गर्न सकिन्छ ? यस विषयमा छलफल भएको छ,’ मन्त्री चौधरीले भने, ‘खेलकुदलाई विकासको बाटोमा डोहो¥याउन सरोकारवालासँग एक भएर अगाडि बढ्न तयार छु ।’

मन्त्रिपरिषद्को पहिलो बैठकले त्रिवि क्रिकेट मैदान तीन सय दिनमा स्तरीय बनाउने निर्णय भएको थियो । मन्त्री चौधरीले मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट मैदानबारे गरेको निर्णय कार्यान्वयनका लागि सदस्यसचिव टंकलाल घिसिङसँग छलफल भएको बताए । ‘तीन सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार पार्ने निर्णयबारे सदस्यसचिवसँग छलफल भइरहेको छ,’ उनले भने । यसैगरी, १०औँ राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने उनले बताए । 

राखेपका उपाध्यक्ष शिव कोइरालाले राखेप सहयात्री बनेर काम गर्न तयार रहेको जनाए । उनले राखेपका योजनालाई कार्यान्वयन गर्न बोर्ड बैठक अनिवार्य भएको बताए । यसैगरी, राखेपका सदस्यसचिव घिसिङले खेलकुद बुझेको नेतृत्व पाएकोमा खुसी व्यक्त गरे । सदस्यसचिव घिसिङले पछिल्लो समय राखेपले गरेको कार्य विवरण प्रस्तुत गरेका थिए । 

सुझावित समाचार